पार्टी एकताका लागि बाहिरिएका पक्षलाई मूलधारमा फर्काउनुपर्नेमा जोड
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवा नै नेपाली कांग्रेसको वैधानिक सभापति रहेको दाबी गरेका छन्।
बिहीबार उपचारपछि स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको दाबी गर्दै देउवा नेतृत्वमै पार्टीलाई अघि बढाउनुपर्ने बताएका हुन्।
उनले कांग्रेसभित्र देखिएको विभाजन र असन्तुष्टिलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। कोइरालाका अनुसार सानेपाबाट अलग भएर गतिविधि गरिरहेको पक्षसमेत अन्ततः पार्टीको मूलधारमा फर्किनुपर्ने आवश्यकता छ।
‘देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हो। स्टे अर्डर आएको छ कि छैन भन्ने विषयमा पनि स्पष्ट हुनुपर्छ,’ कोइरालाले भने, ‘हाम्रो प्रयास पार्टीलाई एक बनाउनेतर्फ नै रहन्छ।’
पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ छ। बाहिरिएका पक्षलाई समेत समेटेर कांग्रेसलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उनले बताए।
कोइरालाले ढिलोचाँडो कांग्रेसका सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको उल्लेख गर्दै आन्तरिक एकता नै पार्टीलाई बलियो बनाउने प्रमुख आधार भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस