२०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

मानव बेचबिखनविरुद्ध पाँचखालका विद्यार्थीको बुलन्द आवाज


३०९५ पाठक संख्या
  • २०८३ भाद्र १८, बिहिबार मा प्रकाशित १६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा आयोजित नगरस्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

    २०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस २०२६ को अवसरमा पाँचखाल नगरपालिका र क्याप्टिभाटिङ नेपालद्वारा आयोजित प्रतियोगितामा नगरभित्रका १० सामुदायिक र ३ संस्थागत गरी १३ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। सहभागी १३ विद्यार्थीमध्ये ११ छात्रा र २ छात्र रहेका थिए।

    प्रतियोगितामा सरस्वती शिक्षा गृहकी प्रिन्सिका काफ्ले प्रथम भएकी छन्। त्यस्तै आजाद माध्यमिक विद्यालयकी निमा तामाङ द्वितीय, नवप्रतिभा माध्यमिक विद्यालयकी आकृति त्रिपाठी तृतीय तथा पाँचखाल भ्याली माध्यमिक विद्यालयकी खुसी न्यौपानेले सान्त्वना स्थान हासिल गरिन्।

    विजयी विद्यार्थीलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

    पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्याण सुवेदी र शिक्षा शाखा प्रमुख उदय कोइराला विशेष अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा शिक्षा शाखा प्रमुख कोइरालाले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले विद्यार्थीमा चेतना, अभिव्यक्ति क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने बताउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

    जनता माध्यमिक विद्यालयका शिक्षक रामहरि पराजुलीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले मानव बेचबिखनका कारण, जोखिम, रोकथाम तथा सामाजिक सचेतनाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

    विद्यार्थीका शब्दमा उठेको आवाजले मानव बेचबिखनविरुद्धको अभियानलाई विद्यालय तहबाटै बलियो बनाउनुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु