काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेपलाञ्चोकस्थित आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै सहकारीले पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीद्वारा जारी सहयोगसम्बन्धी पत्रमा विपद्को घडीमा पीडित नागरिकको साथमा उभिनु संघ–संस्था तथा नागरिकको सामाजिक दायित्व भएको उल्लेख गरिएको छ। नेपाल सरकारले राहत तथा उद्धारका लागि अघि सारेको अभियानमा ऐक्यबद्धता जनाउँदै संस्थाले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संस्थासँग सम्बन्धित सम्पूर्णको योगदानबाट उक्त रकम सहयोग गरिएको जनाएको छ।
सहकारीले आफ्नो सानो योगदानले पनि विपद्मा परेका परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, भोटेकोशी बाढीबाट प्रभावित सबै परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस