२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसको १७ लाख ६२ हजार सहयोग


१८२१ पाठक संख्या
  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित १९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पीडितको राहत र उद्धारका लागि कांग्रेस काभ्रेले पार्टीका सदस्य तथा शुभेच्छुकबाट रकम संकलन गरेको थियो।

    संकलित रकम नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले पार्टीका सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई हस्तान्तरण गरेका हुन्।

    कांग्रेसका अनुसार उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइनेछ। नेपाली कांग्रेसले यसअघि भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहतका लागि पार्टीका तर्फबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

    रकम हस्तान्तरण गर्दै सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु तथा राहत र उद्धारमा हातेमालो गर्नु सबैको साझा दायित्व भएको बताए।

    “विपद्का बेला पीडितको पीडामा साथ दिनु नै मानवताको धर्म हो। हाम्रो सानो सहयोगले पनि पीडितको घाउमा केही मल्हम लगाउन सक्ने विश्वास लिएका छौँ,” लामाले भने।

    कांग्रेस सहमहामन्त्री राणाले विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि कांग्रेस काभ्रेपलाञ्चोकले गरेको योगदानप्रति आभार व्यक्त गरे। उनले विपद्का बेला राजनीतिक तथा सामाजिक सीमाभन्दा माथि उठेर मानवीय सहयोगमा जुट्नु आवश्यक रहेको बताए।

    त्यस्तै, कांग्रेस प्रवक्ता चालिसेले काभ्रेका पार्टी सदस्य तथा शुभेच्छुकले विपद्को पीडामा देखाएको संवेदनशीलता प्रशंसनीय रहेको बताए। “काभ्रेका साथीहरूले ठूलो छाती देखाउनुभएको छ। यो सहयोगले बाढीपीडितको घाउमा मल्हम लगाउन महत्वपूर्ण योगदान पुग्नेछ,” उनले भने।

    भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा जनधनको ठूलो क्षति पुर्‍याएपछि विभिन्न राजनीतिक दल, संघसंस्था, स्थानीय तह तथा नागरिकस्तरबाट राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु