२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

बेथानचोकको मानवीयता : बाढीपीडितका लागि ३५ लाख सहयोग


१८७३ पाठक संख्या
  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित १३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । आफैं बाढीपहिरोको पीडामा रहेको काभ्रेको बेथानचोक गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यो काभ्रेबाट हालसम्म बाढीपीडितका लागि घोषणा गरिएको ठूलो सहयोगमध्ये एक हो।

    गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिकाको विपद् कोषबाट १५ लाख रुपैयाँ तथा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले प्राप्त गर्दै आएको सेवा–सुविधा तथा पारिश्रमिकबाट २० लाख रुपैयाँ जुटाइने भएको छ।

    आफैं प्राकृतिक विपद्को चपेटामा परेको स्थानीय तहले अर्को विपद्मा परेका नागरिकका लागि गरेको यो सहयोगलाई मानवीय एकता र सहानुभूतिको उदाहरणका रूपमा लिइएको छ।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। यही क्रममा बेथानचोक गाउँपालिकाले पनि ‘आफू पीडामा भए पनि अरूको पीडामा साथ’ दिने भावना व्यक्त गर्दै सहयोगको निर्णय गरेको हो।

    गाउँपालिकाका अनुसार जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधाबाट रकम कट्टा गरी विपद् उद्धार कोषमा योगदान गरिनेछ। गाउँपालिकाको विपद् कोषबाट समेत रकम थप गरी कुल ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने निर्णय भएको हो।

    प्राकृतिक विपद्को पीडा आफैं भोगिरहेको स्थानीय तहबाट आएको यो निर्णयले विपद्मा पीडितबीचको सहकार्य, मानवीय संवेदना र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु