काठमाडौं । रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मान तथा सम्झनामा सरकारले भोलि भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीबाट मृत्यु भएका व्यक्तिहरूको तेह्रौँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले मृतकप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। सरकारले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस