२०८३ भाद्र २४, बुधबार | Wed, 09, Sep, 2026

भुरुङखेलबाट हजारौं पटका बरामद, बनेपाका युवक पक्राउ


२५७५ पाठक संख्या
  • २०८३ भाद्र २४, बुधबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं प्रहरीले अवैध रूपमा भण्डारण गरी बिक्री वितरण गर्न राखिएका ठूलो परिमाणका पटका बरामद गरेको छ। काठमाडौं महानगरपालिका–१८, भुरुङखेलबाट विभिन्न प्रकारका हजारौं थान विष्फोटक पदार्थ (पटका) सहित एक जनालाई पक्राउ गरिएको छ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थायी घर भई हाल भुरुङखेलमा बस्दै आएका ३६ वर्षीय सुजन कपाली रहेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपालीले आफ्नै कोठामा ठूलो परिमाणमा पटका लुकाइछिपाइ राखी बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    प्रहरीले भदौ २२ गते साँझ करिब ५ बजे कपालीको कोठामा चेकजाँच गर्दा लुकाएर राखिएको अवस्थामा विभिन्न ५२ प्रकारका हजारौं थान पटका फेला पारेको जनाएको छ।

    बरामद गरिएका विष्फोटक पदार्थमा ‘गोल्डेन स्ट्रबेरी’, ‘सुपर हिरो’, ‘स्काई ह्विस्टल’, ‘रकेट बम’, ‘किङ कोब्रा’, ‘फ्लावर पट’ र ‘रोल क्याप्स’ लगायत विभिन्न ब्रान्डका पटका प्याकेट तथा गोटामा राखिएको अवस्थामा भेटिएका थिए।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिअनुसार पक्राउ परेका कपाली तथा बरामद गरिएका सम्पूर्ण विष्फोटक सामग्री नियन्त्रणमा लिएर प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको छ।

    चाडपर्वको मुखमै काठमाडौंमा ठूलो परिमाणमा पटका बरामद भएपछि प्रहरीले अवैध विष्फोटक पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरणविरुद्ध निगरानी थप कडा बनाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु