चार दिनसम्म चल्ने साधारणसभामा प्रगति, उपलब्धि र भावी योजनामाथि छलफल .
डिजिटल सेवातर्फ स्वेच्छाको फड्को, आफ्नै भवन बनाउने तयारी
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–४ मा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सोमबारदेखि सुरु भएको छ। लगातार चार दिनसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन संस्थाको कार्यालय परिसरमा एक समारोहबीच गरिएको हो।
संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको सभाध्यक्षता तथा संस्थाका सल्लाहकार सुदीप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चारकर्मी इश्वरी राजकुमार मैलाली अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सुदीप श्रेष्ठ र संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभएको थियो।
संस्थाका ऋण उपसमिति संयोजक निराजनलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव गणेश दनुवारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सुरेश दनुवारले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोष नापितले गर्नुभएको थियो।
सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा थप २१३ जना सदस्य वृद्धि गर्दै कुल शेयर सदस्य संख्या १ हजार ६ सय १ पुर्याएको छ। संस्थाको शेयर पुँजी १ करोड ५२ लाख ९ हजार १ सय रुपैयाँ पुगेको छ भने निक्षेप रकम १९ करोड ९९ लाख ५७ हजार ६ सय १३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी, कर्जा लगानीतर्फ ७ करोड ५० लाख रुपैयाँको लक्ष्य लिइएकोमा ७ करोड ९४ लाख ७० हजार १ सय ४८ रुपैयाँ लगानी गरी संस्थाले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको जनाएको छ।
कर्जा असुलीतर्फ ६ करोड १० लाख रुपैयाँको लक्ष्य राखिएकोमा ६ करोड १५ लाख ४ हजार ३ सय ५४ रुपैयाँ असुली गर्दै यस क्षेत्रमा पनि लक्ष्यभन्दा बढी सफलता प्राप्त गरिएको संस्थाले जनाएको छ। संस्थाको विभिन्न प्रकारका कोषमा गरी १ करोड ७७ लाख ६ हजार ९ सय ३ रुपैयाँ सञ्चित रहेको छ।
आठ जना कर्मचारी कार्यरत रहेको उक्त सहकारीले शेयर सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै साँझपख समेत सेवा सञ्चालन गर्दै आएको छ। आवश्यकताका आधारमा सदस्यलाई घरमै पुगेर सेवा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको संस्थाले जनाएको छ।
सहकारीले सदस्यहरूले मासिक रूपमा गरेको आर्थिक कारोबारको विवरण घरघरमै पुर्याउने व्यवस्था गरेको छ। सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै एक लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा समेत उपलब्ध गराउँदै आएको छ।
देशभर सहकारी क्षेत्रमा विभिन्न चुनौती र उतारचढाव देखिएको अवस्थामा समेत संस्थाले आफ्ना शेयर सदस्यलाई ८ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको जनाएको छ।
संस्थाको प्रशासनिक खर्च विगतका वर्षहरूको तुलनामा क्रमशः घट्दै गएको र आम्दानीमा वृद्धि हुँदै जाँदा शेयर सदस्यहरूको आकर्षण समेत बढ्दै गएको बताइएको छ।
सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन अनलाइन तथा डिजिटल प्रणालीलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ।
संस्थाले आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन योजनाअन्तर्गत जग्गा खरिदको काम सम्पन्न गरिसकेको छ। आगामी दिनमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने लक्ष्यसहित संस्थाले आवश्यक तयारी अघि बढाएको जनाएको छ।
२२ गते वाट सुरुभई २५ गते सम्म चार दिन सञ्चालन हुने १६औँ वार्षिक साधारणसभामा संस्थाको आर्थिक प्रगति, भावी योजना, सदस्य सेवा विस्तार तथा सहकारीको थप सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस