२०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

जेनजी आन्दोलनको अपमान नगर्न गृहमन्त्रीको कडा चेतावनी


८०७ पाठक संख्या
  • २०८३ भाद्र २३, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्न खोजेको आरोप लगाउँदै आफ्नो सोच र व्यवहार सुधार्न चेतावनी दिएका छन्।

    जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलन नेपाली इतिहासको एउटा महत्वपूर्ण अध्याय भएकाले त्यसलाई परिवर्तन गर्ने वा गलत ढंगले व्याख्या गर्ने प्रयास नगर्न आग्रह गरे।

    ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’

    आन्दोलनको अपमान गर्नु भनेको सम्पूर्ण नेपाली जनताको भावनामाथि चोट पुर्‍याउनु भएको उनको भनाइ थियो। ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ भन्ने कुरा स्मरण रहोस्,’ उनले चेतावनी दिँदै भने, ‘अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन।’

    गृहमन्त्री गुरुङले आफूहरू सत्ता र शक्तिको लोभका कारण राजनीतिमा नआएको स्पष्ट पार्दै जनताको विश्वास र जिम्मेवारीका कारण सरकारमा आएको बताए। भदौ २३ को आन्दोलनमा पनि आफूहरू सत्ताको पछाडि नरहेको उनको भनाइ थियो।

    ‘हामीलाई न सत्ताको लोभ छ, न शक्तिको घमण्ड,’ उनले भने, ‘मलाई त कहिलेकाहीँ सुत्न पनि डर लाग्छ—कतै मेरोबाट कमजोरी पो हुने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्ने चिन्ता हुन्छ।’

    उनले आफू मात्र नभई सरकारका सबै मन्त्री जनताको अपेक्षाअनुसार काम गर्न निरन्तर प्रयासरत रहेको बताए।

    गृहमन्त्री गुरुङले सुशासनको पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप लगाउँदै अहिलेको सरकार जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्ने दिशामा अघि बढिरहेको दाबी गरे।

    सुशासन स्थापित गर्ने जिम्मेवारी आफूलाई दिएको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन शाहप्रति धन्यवादसमेत व्यक्त गरे। उनले आवश्यक विषयमा सभापति लामिछानेसँग निरन्तर सल्लाह र सुझाव लिइरहेको पनि उल्लेख गरे। ‘जेनजीले उठाएको परिवर्तन र सुशासनको आवाजलाई कमजोर पार्ने होइन, संस्थागत गर्ने दिशामा सरकार अघि बढिरहेको छ,’ गृहमन्त्री गुरुङले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु