२०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

संकटमा सहकारी, बलियो बन्दै सहकार्य यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा राजेन्द्र नापित


२८८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ आश्विन १, बिहिबार मा प्रकाशित ६ घण्टा अघि
  • केदार नापीत,ललितपुर । ललितपुरमा रहेका १४ वटा सहकारी संस्थाबीच आपसी समन्वय, सहकार्य र सहकारी क्षेत्रका साझा मुद्दामा सामूहिक पहल गर्दै आएको यल अन्तर सहकारी समन्वय समितिको नवौँ साधारण सभा सम्पन्न भएको छ।

    ललितपुरस्थित माम्सा बैङ्क्वेटमा आयोजित साधारण सभाले समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुका साथै सहकारी संस्थाबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समस्या समाधानका लागि सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    समितिका अध्यक्ष नारायण तण्डुकारको सभापतित्वमा सम्पन्न सभामा समितिका संस्थापक अध्यक्ष तथा मां बंगलामुखी सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, निवर्तमान अध्यक्ष सुसन श्रेष्ठ, पूर्वअध्यक्षहरू तथा १४ वटै आबद्ध सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा निवर्तमान अध्यक्ष सुसन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा अध्यक्ष नारायण तण्डुकारले समितिले पछिल्लो एक वर्षमा सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    ‘सहकारी संकटमा एकता झनै आवश्यक’

    सभालाई सम्बोधन गर्दै समितिका संस्थापक अध्यक्ष एवं मां बंगलामुखी सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विषम परिस्थितिले संस्थाहरूबीचको आपसी एकता, सहकार्य र समन्वयको आवश्यकता अझ बढाएको बताउनुभयो।

    उहाँले सहकारी क्षेत्रमा देखिने समस्या तथा चुनौतीको सामना कुनै एउटा संस्थाले मात्र गर्न नसक्ने भन्दै सदस्य संस्थाहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    ‘सहकारी संस्थाहरूबीच हातेमालो र सहकार्यको वातावरण निर्माण गर्न सके जस्तोसुकै परिस्थितिको पनि सामूहिक रूपमा सामना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो।

    महर्जनले सहकारी संस्थाहरूबीच स्वस्थ सम्बन्ध, पारदर्शिता र निरन्तर संवाद कायम राख्दै साझा हितका विषयमा सामूहिक धारणा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    नयाँ नेतृत्व सर्वसम्मत

    नवौँ साधारण सभाले यल अन्तर सहकारी समन्वय समितिको नयाँ नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन गरेको छ।

    नयाँ कार्यसमितिको अध्यक्षमा ज्वल न्हाय्कं बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र नापित चयन हुनुभएको छ।

    त्यसैगरी उपाध्यक्षमा लुजः साकोसका अध्यक्ष उर्मिला सापकोटा शाक्य, म्यानेजर क्लबको संयोजकमा तःननि साकोसका म्यानेजर विनोद महर्जन र महिला सञ्जालको संयोजकमा प्रिन्स साकोसकी सदस्य मिनरवा महर्जन सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

    साधारण सभाबाट नेतृत्व चयन भएसँगै समितिले ललितपुरका सहकारी संस्थाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    साझा समस्या समाधानमा सामूहिक पहल गर्ने

    नवनिर्वाचित अध्यक्ष राजेन्द्र नापितले आबद्ध सम्पूर्ण सहकारी संस्था, सञ्चालक तथा सदस्यहरूको साथ र सहयोगमा समितिलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले ललितपुरका सहकारी संस्थाहरूबीच आपसी समन्वय, सहकार्य र सहयोगलाई अझ मजबुत बनाउँदै सहकारी क्षेत्रमा देखिएका साझा समस्या तथा चुनौती समाधानका लागि सामूहिक पहल गर्ने बताउनुभयो।

    नापितले समितिलाई केवल औपचारिक समन्वयको थलोका रूपमा सीमित नराखी आबद्ध संस्थाहरूबीच अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा साझा हितका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने दिशामा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

    नयाँ नेतृत्व चयनसँगै यल अन्तर सहकारी समन्वय समितिले सहकारी संस्थाहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकारी क्षेत्रको संस्थागत विकास, सदस्य संस्थाको हित तथा साझा चुनौतीको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार