२०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

ज्ञानकुञ्जमा बालदिवसको उत्सव, पाँच सय बालबालिका सम्मानित


१३५३ पाठक संख्या
  • २०८३ भाद्र २६, शुक्रबार मा प्रकाशित १६ घण्टा अघि
  • बनेपा, काभ्रेपलाञ्चोक । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले बालदिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दै साना बालबालिकालाई सम्मान तथा उपहार वितरण गरेको छ।

    विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थीहरूले तल्लो तहका बालबालिकालाई सम्मान गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए। कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले प्लेग्रुपदेखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री उपहारस्वरूप प्रदान गरेका थिए।

    कार्यक्रममा करिब पाँच सयभन्दा बढी बालबालिकालाई विधिपूर्वक पूजा गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, फलफूल, खाजा तथा अन्य सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। सो अवसरमा बालबालिकाको सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना समेत गरिएको थियो।

    ‘शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि’ भन्ने मूल नाराका साथ सञ्चालित प्रतिष्ठानले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिँदै आएको छ। विद्यालय प्रशासनका अनुसार ‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ भन्ने अवधारणालाई आत्मसात गर्दै बालबालिकाको सम्मान, संरक्षण र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको हो।

    कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्य, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विगत वर्षहरूझैँ यस वर्ष पनि अभिभावकहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।

    प्रबन्ध निर्देशक वैद्यका अनुसार विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, संस्कार र व्यावहारिक ज्ञानको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने भावना विकास गराउने उद्देश्य पनि कार्यक्रमको प्रमुख पक्ष रहेको उनले बताए।

    यस्ता मौलिक सांस्कृतिक तथा धार्मिक गतिविधिले बालबालिकामा संस्कार, आपसी सम्मान तथा संस्कृति र परम्पराप्रति सकारात्मक भावना विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

    कार्यक्रमप्रति अभिभावक तथा शिक्षकहरूले समेत सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले सानै उमेरदेखि बालबालिकामा कला, संस्कृति, सहकार्य, सहयोग, सम्मान र सामाजिक भावनाको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु