२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

पाँचखाल बजारमा अनुगमनको प्रभाव : खाद्य वस्तुको गुणस्तरमा सुधार


१८९९ पाठक संख्या
  • २०८३ भाद्र २५, बिहिबार मा प्रकाशित १८ घण्टा अघि
  • पाँचखाल, काभ्रेपलाञ्चोक । नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गर्दा पाँचखाल नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। चाडपर्वका बेला खाद्य तथा दैनिक उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले गुणस्तरहीन, म्याद गुज्रिएका तथा अस्वच्छ खाद्य वस्तुको बिक्री–वितरण रोक्न नगरपालिकाले बजार अनुगमन थालेको हो।

    पाँचखाल नगरपालिकाको आयोजनामा गरिएको अनुगमनका क्रममा विगतका वर्षहरूको तुलनामा बजारमा बिक्री–वितरण हुने खाद्य वस्तुको स्वच्छता र गुणस्तरमा उल्लेख्य सुधार आएको पाइएको छ। अघिल्ला अनुगमनमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री भेटिने र नष्ट गर्नुपर्ने अवस्था देखिए पनि पछिल्लो अनुगमनमा त्यस्ता सामग्री निकै न्यून मात्रामा भेटिएको अनुगमन टोलीले जनाएको छ।

    अनुगमनका क्रममा खाद्य सामग्रीको गुणस्तर, म्याद, मूल्यसूची, सरसफाइ, भण्डारण तथा बिक्रीस्थलको अवस्थाबारे निरीक्षण गरिएको थियो। व्यवसायीलाई खाद्य वस्तुको स्वच्छता कायम गर्न, म्याद तथा लेबल स्पष्ट भएका सामग्री मात्र बिक्री गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन निर्देशन दिइएको छ।

    अनुगमनमा खाद्य नियन्त्रण कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख मनीसा चापागाई आमन्त्रितका रूपमा सहभागी हुनुभएको थियो। उहाँको सहभागिताले बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर तथा खाद्य स्वच्छतासम्बन्धी पक्षको अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको थियो।

    बजार अनुगमनमा पाँचखाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङ, शाखा अधिकृत सन्तोष पौडेल, अधिकृत सुविता ढुंगाना, राजस्व शाखा प्रमुख पुष्पमाया दनुवार लगायतको सहभागिता रहेको थियो।

    त्यस्तै, पाँचखाल प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक मनराज बाँनियाँको नेतृत्वमा प्रहरी टोली, पाँचखाल नगर प्रहरी प्रमुख विदुर खरेल, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष नवीनप्रकाश निरौला तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

    व्यवसायीमा बढ्दो सचेतना

    अनुगमन टोलीका अनुसार पछिल्ला वर्षहरूमा व्यवसायीमा खाद्य स्वच्छता, उपभोक्ता अधिकार र व्यवसाय सञ्चालनका मापदण्डबारे सचेतना बढ्दै गएको छ। विगतमा देखिएका कमजोरी क्रमशः सुधार हुँदै गएको र व्यवसायीहरू स्वयं पनि गुणस्तर तथा सरसफाइप्रति जिम्मेवार बन्न थालेको पाइएको छ।

    नगरपालिकाले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा उपभोक्ता संरक्षण ऐनले दिएको अधिकार र जिम्मेवारीअनुसार स्थानीय बजारको नियमित अनुगमन गर्दै आएको जनाएको छ। बजारमा मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री–वितरणलगायत उपभोक्ता हितविपरीतका गतिविधि हुन नदिन अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाको भनाइ छ।

    नियमित अनुगमनमा जोड

    चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउँदै नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई नियमित र व्यवस्थित बनाउने जनाएको छ। विशेषगरी मिठाई, तेल, मसला, पेय पदार्थ, मासुजन्य सामग्री तथा दैनिक उपभोग्य वस्तुको गुणस्तरमा निगरानी बढाइने भएको छ।

    चाडपर्वको मुखमा गरिएको बजार अनुगमनले उपभोक्तालाई गुणस्तरीय सामग्री खरिद गर्न थप विश्वास दिलाएको छ भने व्यवसायीलाई पनि जिम्मेवार र मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्न प्रेरित गरेको छ। निरन्तर अनुगमनसँगै व्यवसायीको बढ्दो सचेतनाले पाँचखालको बजारमा खाद्य वस्तुको गुणस्तर सुधार हुँदै गएको सकारात्मक संकेत देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु