२०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

पाँचखाल बजार : भीड बढ्दै, सुरक्षा घट्दै ? चाडपर्वअघि पार्किङ, फुटपाथ र सवारी व्यवस्थापन चुनौती


४४४७ पाठक संख्या
  • २०८३ आश्विन १, बिहिबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित वडा नं. ४ को समाजकल्याण चोक नगरकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो। दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि पाँचखालसहित आसपासका स्थानीय तहबाट समेत उपभोक्ताको बाक्लो आवागमन हुने यस क्षेत्रमा नगरपालिका कार्यालय, विभिन्न बैंक तथा सहकारी संस्था, विद्यालय तथा अन्य व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्। परिणामतः बजार क्षेत्रमा पैदलयात्रु र सवारी साधनको चाप दिनप्रतिदिन बढ्दो छ।

    व्यस्त बजारमा चहलपहल बढेसँगै सुरक्षा, ट्राफिक व्यवस्थापन र बजार अनुशासनको प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ। विशेषगरी हिन्दु धर्मावलम्बीका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको संख्या बढ्ने भएकाले अहिलेबाटै सुरक्षा र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ।

    बजार क्षेत्रमा सम्भावित अप्रिय घटना रोकथाम, शान्ति–सुरक्षा कायम तथा नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्ने दायित्व प्रहरी प्रशासनसँग रहन्छ भने सडक, सार्वजनिक क्षेत्र, फुटपाथ तथा बजारको समग्र व्यवस्थापनमा सम्बन्धित वडा कार्यालय तथा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले चाडपर्वको मुखमा ‘घटना भएपछि नियन्त्रण गर्ने’ भन्दा ‘घटना हुन नदिने’ सुरक्षा रणनीति आवश्यक देखिएको छ।

    कानुन छ, कार्यान्वयन कहाँ छ ?

    पाँचखाल बजारमा देखिने केही गतिविधिले कानुन कार्यान्वयनको प्रभावकारितामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको स्थानीयको गुनासो छ। अव्यवस्थित सवारी पार्किङ, फुटपाथमा व्यापारिक गतिविधि, हेल्मेटबिना दुईपाङ्ग्रे सवारी सञ्चालन, क्षमताभन्दा बढी यात्रु बोक्ने अटो तथा सार्वजनिक सवारी, निर्धारितभन्दा बढी भाडा असुली र चालक अनुमतिपत्रबिना सवारी सञ्चालनजस्ता गतिविधिमाथि नियमित निगरानी र कारबाही आवश्यक देखिन्छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ ले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन निषेध गरेको छ। त्यस्तै, दफा ९६ ले सार्वजनिक सवारीले लिने भाडा तोकिएबमोजिम हुने व्यवस्था गरेको छ। दफा १३० ले दुईपाङ्ग्रे सवारी चलाउँदा हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको छ। ऐनअन्तर्गत सार्वजनिक स्थानमा अरूलाई बाधा पुग्ने गरी सवारी राख्ने, निर्धारित वजनभन्दा बढी भार बोक्ने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु वा मालसामान राख्ने तथा निर्धारित भाडादरभन्दा बढी भाडा लिने कार्यसमेत कारबाहीको विषय बन्न सक्छ।

    यस कानुनी व्यवस्थाको आलोकमा प्रश्न उठ्छ—पाँचखालमा यस्ता गतिविधि देखिन्छन् भने नियमित अनुगमन र कारबाही किन प्रभावकारी हुन सकेको छैन ?

    पाँचखाल प्रहरी चौकीमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली रहेको र ट्राफिक प्रहरीको समेत उपस्थिति रहेको अवस्थामा पनि सवारी नियम उल्लङ्घनका गतिविधि निरन्तर देखिनु सरोकारवालाका लागि गम्भीर प्रश्न बन्न पुगेको छ।

    क्यामेरा छ, निगरानी कति ?

    बजार सुरक्षाको महत्वपूर्ण आधार मानिने सीसी क्यामेरा प्रणालीको प्रभावकारिता पनि चासोको विषय बनेको छ। क्यामेरा जडान गर्नु मात्र पर्याप्त हुँदैन; त्यसको नियमित सञ्चालन, दृश्य स्पष्टता, रेकर्ड सुरक्षित राख्ने व्यवस्था र आवश्यक अवस्थामा तत्काल प्रयोग गर्न सकिने निगरानी प्रणाली आवश्यक हुन्छ।

    चाडपर्वको समयमा चोरी, झैझगडा, सवारी दुर्घटना, भीड व्यवस्थापन तथा अन्य अप्रिय गतिविधिको जोखिम बढ्न सक्ने भएकाले बजारका संवेदनशील स्थानमा पर्याप्त सीसी क्यामेरा, सडकबत्ती र प्रहरी निगरानीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ।

    पार्किङदेखि फुटपाथसम्म अस्तव्यस्तता

    व्यवस्थित पार्किङको अभावमा सार्वजनिक सडक तथा बजार क्षेत्रमा जथाभावी सवारी रोकिँदा पैदलयात्रु र अन्य सवारी साधनको आवागमन प्रभावित हुने गरेको गुनासो छ। सार्वजनिक सडकमा जथाभावी पार्किङले ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना गर्ने भएकाले ट्राफिक प्रहरीले यसविरुद्ध  कारबाही गर्न उत्तिकै आबश्यक रहन्छ ।

    त्यस्तै, फुटपाथ पैदलयात्रुका लागि सहज र सुरक्षित आवागमनको माध्यम हो। तर फुटपाथमै व्यापारिक सामग्री राखिने वा अन्य प्रयोजनमा प्रयोग हुने अवस्थाले पैदलयात्रु सडकतर्फ जान बाध्य हुने र दुर्घटनाको जोखिम बढ्ने सम्भावना रहन्छ।

    त्यसैले पाँचखाल बजारमा ‘व्यापार पनि चल्ने र पैदलयात्रुको अधिकार पनि सुरक्षित हुने’ गरी बजार व्यवस्थापनको स्पष्ट मापदण्ड आवश्यक देखिन्छ।

    चाडपर्वमा भाडा र ओभरलोडको निगरानी आवश्यक

    चाडपर्वको समयमा यात्रुको चाप बढ्दा सार्वजनिक तथा साना सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, मनपरी भाडा असुल्ने तथा तोकिएको स्थानबाहेक अन्यत्र यात्रु चढाउने–ओराल्ने जस्ता समस्या देखिन सक्ने भएकाले ट्राफिक निगरानी अझ कडा बनाउनुपर्ने देखिन्छ।

    ट्राफिक प्रहरीले हालै सार्वजनिक सवारीलाई लक्षित गरेको विशेष सचेतना अभियानमा क्षमताभन्दा बढी यात्रु नबोक्न, निर्धारित भाडादर स्पष्ट रूपमा राख्न, जथाभावी सवारी नरोक्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न जोड दिएको छ।

    यसले पनि चाडपर्वमा पाँचखालजस्ता व्यस्त बजारमा ट्राफिक व्यवस्थापनलाई सामान्य नियमित गतिविधिका रूपमा नभई विशेष सुरक्षा योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने आवश्यकता देखाउँछ।

    पाँचखाल–बनेपा विद्युतीय सवारीको भाडामाथि पनि प्रश्न

    पाँचखाल–बनेपा आवागमन गर्ने विद्युतीय सवारीको भाडादरका विषयमा समेत यात्रुबाट गुनासो आउने गरेको बताइएको छ। यस्तो अवस्थामा सम्बन्धित निकायले तोकिएको भाडादर के हो, यात्रुले कति तिर्नुपर्ने हो र बढी भाडा लिइएको अवस्थामा कहाँ उजुरी गर्ने हो भन्ने विषयमा स्पष्ट सूचना सार्वजनिक गर्न आवश्यक हुन्छ।

    कानुनले सार्वजनिक सवारीको भाडा तोकिएबमोजिम हुने व्यवस्था गरेको अवस्थामा ‘मनलाग्दी भाडा’को गुनासो भए सम्बन्धित निकायले तथ्यमा आधारित अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ।

    चाडपर्वअघि तीन तहको तत्काल तयारी

    पाँचखाल बजारलाई चाडपर्वमा सुरक्षित, व्यवस्थित र सहज बनाउन सम्बन्धित वडा कार्यालय ,नगरपालिका, प्रहरी प्रशासन र ट्राफिक प्रहरीबीच संयुक्त सुरक्षा तथा ट्राफिक कार्ययोजना आवश्यक देखिन्छ। पहिलो, बजारको मुख्य क्षेत्रमा जथाभावी पार्किङ नियन्त्रण गरी व्यवस्थित पार्किङस्थलको प्रयोग अनिवार्य गरिनुपर्छ।

    दोस्रो, फुटपाथमा हुने अवरोध हटाई पैदलयात्रुका लागि सुरक्षित आवागमन सुनिश्चित गर्नुपर्छ। तेस्रो, सीसी क्यामेरा र सडकबत्तीको अवस्थाको तत्काल निरीक्षण गरी काम नगर्ने क्यामेरा मर्मत तथा अँध्यारा स्थानमा पर्याप्त प्रकाशको व्यवस्था गरिनुपर्छ।

    त्यससँगै चालक अनुमतिपत्र, हेल्मेट, सवारीको क्षमता, निर्धारित भाडादर र अन्य ट्राफिक नियमको पालनामा विशेष चेकजाँच अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ।

    ट्राफिक प्रहरीले समेत सवारी चालकलाई आवश्यक कागजात साथमा राख्न, हेल्मेट प्रयोग गर्न र ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएको छ।

     

    प्रश्न स्थानीयको मात्र होइन, जिम्मेवार निकायको पनि हो

    पाँचखाल बजारमा प्रहरी चौकी र ट्राफिक प्रहरीको उपस्थिति हुँदाहुँदै नियमविपरीतका गतिविधि दोहोरिन्छन् भने त्यसको कारणबारे सम्बन्धित निकायले समीक्षा गर्नुपर्ने समय आएको छ। नियम उल्लङ्घन गर्नेको मात्र गल्ती हो कि नियम कार्यान्वयन गराउने संयन्त्रको अनुगमन पनि कमजोर छ ?

    यो प्रश्नको जवाफ खोज्नु अहिलेको आवश्यकता हो। कुनै व्यक्ति वा संस्थालाई दोषारोपण गर्नु भन्दा कानुनमा भएको व्यवस्था व्यवहारमा कति कार्यान्वयन भयो, नियमित अनुगमन कति भयो र उल्लङ्घन गर्नेमाथि कति कारबाही भयो भन्ने तथ्य सार्वजनिक हुनु आवश्यक छ।

    चाडपर्वको समयमा बजारमा नागरिकको भीड बढ्ने निश्चित भएकाले पाँचखालको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई समयमै चुस्त बनाउन सकिए सम्भावित दुर्घटना तथा अप्रिय घटना न्यूनीकरण गर्न सकिन्छ।

    कानुन कागजमा मात्र होइन, सडकमा पनि देखिनुपर्छ। पाँचखालको समाजकल्याण चोकमा अब नागरिकले खोजेको कुरा यही हो—सुरक्षित बजार, व्यवस्थित सडक, पारदर्शी भाडादर र प्रभावकारी कानुन कार्यान्वयन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार