काठमाडौं, २५ भदौ । खाना पकाउने ग्यासको आपूर्ति समस्या समाधान गर्न नसकेको आलोचनाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी छन्। उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्। साहले बिहीबार नै मन्त्रालय पुगेर आफ्नो पदीय जिम्मेवारी सम्हालेका छन्।
राजनीतिक यात्रामा विभिन्न दल निर्माण, परित्याग र विलयको अनुभव बटुल्दै आएका नवनियुक्त मन्त्री साह छोटो अवधिमै चार राजनीतिक दलसँग जोडिएका व्यक्ति हुन्। जनमत पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका साह अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुँदै मन्त्री पदमा पुगेका छन्।
पेसाले इन्जिनियर रहेका साह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीचको सम्बन्ध निकै पुरानो थियो। दुवैको अध्ययन क्षेत्र इन्जिनियरिङ भएकाले उनीहरू नजिकिएका थिए। जनमत पार्टी स्थापनाका क्रममा साहले राउतलाई महत्वपूर्ण सहयोग गरेका थिए।
जनमत पार्टी गठन भएपछि साह पार्टीको उपाध्यक्ष तथा अनुशासन समितिको प्रमुख बनेका थिए। पार्टीको सुरुवाती केन्द्रीय कार्यालयसमेत भक्तपुरको सूर्यविनायक–३ स्थित साहकै घरको भुइँतलामा सञ्चालन भएको थियो।
कुनै समय पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनका लागि राउतलाई आर्थिक सहयोग जुटाउनसमेत साहले भूमिका खेलेको प्रसंग राउतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
तर पार्टी स्थापना भएपछि राउत र साहबीचको सम्बन्ध लामो समयसम्म सुमधुर रहन सकेन। उनीहरूबीच आर्थिक विषयलाई लिएर मतभेद बढ्दै गएको मधेश राजनीतिबारे जानकार नेताहरू बताउँछन्।
संघीय सांसद गोमा लाभलाई पदबाट हटाउने विषयले पनि राउत–साह सम्बन्धमा थप दरार ल्याएको थियो। अनुशासन आयोगका प्रमुख रहेका साहले लाभलाई हटाउने निर्णयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।
गोमा लाभलाई सांसद पदबाट हटाउन अध्यक्ष राउतले तत्कालीन सभामुख देवराज घिमिरेलाई पटकपटक पत्राचार गरेका थिए। तर तत्कालीन सभामुख घिमिरेले राउतको चाहनाअनुसार लाभलाई पदबाट हटाएका थिएनन्।
पार्टीभित्र मतभेद चर्किंदै गएपछि साहलाई स्पष्टीकरण सोधियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरियो र गत साउनदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको थियो।
जनमत पार्टीले साहमाथि जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको, अध्यक्ष राउतविरुद्ध गतिविधि गरेको, पार्टी विधानविपरीत काम गरेको तथा पार्टी फुटाउने उद्देश्यले गुटगत बैठक गर्दै हिँडेको आरोप लगाएको थियो।
जनमत पार्टीबाट निष्कासन भए पनि साह राजनीतिबाट भने निष्क्रिय बसेनन्। उनले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका थिए। तर उक्त नामलाई लिएर कानुनी विवाद भएपछि पार्टीले मान्यता पाउन सकेन।
जनमत पार्टी परित्याग गरेका व्यक्तिहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै अध्यक्ष राउत अदालत पुगेका थिए। अदालतबाट जनस्वराज पार्टीले मान्यता नपाएपछि साहले अर्को राजनीतिक दल गठन गरे।
उनले ‘सर्वोदय’ नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गराए। उक्त दलले चुनाव चिह्नका रूपमा मकैको घोगा प्राप्त गरेको थियो। पार्टीमा अधिकांश जनमतबाट अलग भएका तथा निष्कासनमा परेका व्यक्तिहरू संलग्न थिए।
तर चुनाव नजिकिँदै गर्दा साह स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। उनको नेतृत्वमा रहेको सर्वोदय पार्टी रास्वपामा विलय भयो। त्यसपछि रास्वपाले उनलाई सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको पक्षमा आएको चुनावी लहरबीच साहले नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।
पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका साहले ४२ हजार ७७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका थिए।
हालै सुनसरीस्थित कप्तानगञ्जमा गत साउन १० गते भएको घटनासम्बन्धी छुट्टै प्रतिवेदन आफूखुसी तयार गरेको विषयमा पनि साहमाथि पार्टीभित्र प्रश्न उठेको थियो।
दुई समुदायबीच भएको विवाद विस्तार हुँदै मधेशका अन्य क्षेत्रमा समेत तनाव सिर्जना भएको थियो। उक्त घटनाक्रम उग्र बन्दै जाँदा सुनसरीमा तीन जना र सिरहामा एक जनाको ज्यान गएको थियो।
साहले गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा सुनसरी घटनाको छुट्टै प्रतिवेदन तयार गरेको दाबी गरेका छन्। तर पार्टीको औपचारिक निर्णयबिना प्रतिवेदन तयार गरिएको र त्यसमा रास्वपाकै सांसदहरूमाथिसमेत प्रश्न उठाइएको भन्दै पार्टीभित्र उनको भूमिकामाथि आलोचना भएको थियो।
यसरी जनमत पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका, त्यसबाट निष्कासित भएका, आफ्नै दल गठन गरेका र अन्ततः रास्वपाबाट सांसद निर्वाचित भएका दीपककुमार साह अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्। पार्टी परिवर्तनको लामो राजनीतिक यात्रापछि मन्त्री बनेका साहसामु अब सबैभन्दा ठूलो चुनौती भनेको मुलुकको आपूर्ति व्यवस्था सहज बनाउँदै आफ्नो कार्यक्षमता प्रमाणित गर्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस