७ असोज, काठमाडौं । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले सहयोग घोषणा गरेकी हुन्। उनले बाढीबाट प्रभावित नेपाली नागरिक तथा सम्पर्कविहीन करिब ७० अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरिन्।
घोषित सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न पुल निर्माणमा खर्च गरिनेछ। त्यस्तै, खानेपानी, सरसफाइ, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगमा ८ मिलियन डलर उपलब्ध गराइनेछ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकी प्रविधिका ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि अमेरिकाले सार्वजनिक गरेको छ।
नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस