७ असोज, काठमाडौं । नेपालमा व्यापारिक तथा औद्योगिक लगानीका लागि अनुमति लिएर बसेका ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको पुष्टि गरेका छन्। भिसा रद्द गरिएकाहरूलाई नेपालबाट निष्कासन (डिपोर्ट) गर्ने प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ।
भिसा रद्द हुनेमा सिन्धुलीको मरिणमा निर्माणाधीन मासु प्रशोधन कारखानामा कार्यरत विदेशी नागरिकहरू रहेका छन्। छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको जियान फुड्स प्रालि–नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्टमा उनीहरू कार्यरत थिए।
विभागका अनुसार उनीहरूले एक कम्पनीको नाममा व्यवसायिक भिसा लिएर भिसाको उद्देश्यविपरीत अन्य काम गरेको पाइएपछि कारबाही अघि बढाइएको हो।
अध्यागमन विभागले भिसाको उद्देश्य र अनुमति प्राप्त कामविपरीत गतिविधि गरेको निष्कर्षका आधारमा उनीहरूको भिसा रद्द गरेको जनाएको छ। अब सम्बन्धित विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस