७ असोज, काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा जानकारी दिँदै बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको बताए।
बाढीका कारण ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् भने सञ्चालनमा रहेका आयोजनाबाट करिब २७५ मेगावाट उत्पादन प्रभावित भएको छ। प्रसारण लाइनमा क्षति पुग्दा थप १३५ मेगावाट क्षमताका तीन आयोजना पनि बन्द छन्। यसरी कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। निर्माणाधीन ६ आयोजनामा समेत क्षति पुगेको छ।
प्रसारणतर्फ २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने विभिन्न प्रसारण लाइन, स्विच यार्ड, वितरण लाइन तथा पोलमा पनि ठूलो क्षति पुगेको मन्त्री श्रेष्ठले बताए।
८ सयभन्दा बढी सम्पर्कविहीन
बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले जानकारी दिए। तीमध्ये नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारी छन्। माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ४३९ जना सम्पर्कविहीन रहेको र हालसम्म ३९ वटा शव फेला परेको उनले बताए।
मृतक तथा सम्पर्कविहीन कर्मचारीका परिवारलाई ५ लाख
बाढीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने निर्णय गरिएको छ। त्यस्ता परिवारलाई ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराइने मन्त्री श्रेष्ठले बताए।
बाढी प्रभावित ग्राहकलाई राहत दिन भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने तथा पुनः सेवा लिन चाहनेलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
मन्त्री श्रेष्ठले आगामी जलविद्युत् तथा ऊर्जा संरचना निर्माणमा विपद् जोखिम न्यूनीकरण र सुरक्षा मापदण्डलाई प्राथमिकता दिइने बताए।
प्रतिक्रिया दिनुहोस