काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले नगर क्षेत्रभित्र घर वा टहरा भाडामा दिई आम्दानी गर्दै आएका घरधनीलाई नियमानुसार लाग्ने घर बहाल कर स्वघोषणा गरी समयमै बुझाउन आह्वान गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै व्यापार–व्यवसाय, उद्योगधन्दा तथा संघ–संस्थाका कार्यालय सञ्चालनका लागि घर वा टहरा भाडामा दिने घरधनीलाई आफूले लिँदै आएको बहाल रकम खुलाएर स्वघोषणा गर्न आग्रह गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्याण प्रसाद सुवेदीद्वारा हस्ताक्षरित सूचनामा स्वघोषणामा उल्लेख गरिएको बहाल रकमका आधारमा नियमानुसार लाग्ने कर नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।
नगरपालिकाले घर बहालमा दिने घरधनीहरूको अभिलेखसमेत संकलन तथा व्यवस्थापन गरिरहेको जनाएको छ। समयमै स्वघोषणा नगर्ने वा लाग्ने कर नबुझाउनेको हकमा स्थानीय तहबाट उपलब्ध गराइने सेवा–सुविधा सोच्न बाध्य हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।
नगरपालिकाले कर प्रणालीलाई व्यवस्थित बनाउँदै नगर क्षेत्रभित्रको घर बहाल आम्दानीलाई करको दायरामा ल्याउन यस्तो सूचना जारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस