पाँचखाल, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सहकारी संघ–संस्थालाई असोज मसान्तभित्र आवश्यक विवरण तथा प्रतिवेदन बुझाउन नगरपालिकाले निर्देशन दिएको छ।
नगरपालिकाले सूचना जारी गर्दै कृषि तथा सहकारी शाखामा उपस्थित भई आर्थिक वर्ष २०८२/८३ का आवश्यक विवरण पेस गर्न भनेको हो। पाँचखाल नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५२ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बुझाउनुपर्ने विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
सहकारीहरूले कारोबारको चौमासिक तथा वार्षिक प्रतिवेदन, वार्षिक कार्यक्रम तथा नीति–योजना, सञ्चालकको विवरण, शेयर सदस्य तथा शेयरपूँजीको विवरण, सञ्चालक वा सदस्यले लिएको बाँकी ऋण, लेखापरीक्षक नियुक्तिको विवरण, लेखापरीक्षण प्रतिवेदन तथा साधारण सभा बैठकको प्रमाणित माइन्युट पेस गर्नुपर्नेछ।
त्यस्तै, व्यवसाय दर्ता तथा नवीकरणको प्रमाणपत्र र कर चुक्ताको प्रमाणित प्रतिलिपिसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाले सहकारी क्षेत्रको एकीकृत सूचना प्रणाली (COPOMIS) मा समेत संस्थाका समष्टिगत विवरण अनिवार्य रूपमा प्रविष्ट गरी अद्यावधिक गर्न निर्देशन दिएको छ।
नगरपालिकाले जारी गरेको सूचना असोज ८ गते प्रकाशित गरिएको हो। सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्याणप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस