८ असोज, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा वरिष्ठ नेताका रूपमा भित्र्याउने प्रस्ताव अघि सारेको छ।
ललितपुरको भनिमण्डलस्थित रामबागमा जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेताका रूपमा पार्टीमा पुनः सक्रिय गराउने प्रस्ताव पेश गरिएको हो। राष्ट्रपति निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएकी भण्डारीले पछिल्लो समय एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कने संकेत दिएकी थिइन्।
यसअघि पार्टी नेतृत्वलाई लिएर भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद सार्वजनिक हुँदै आएको थियो। पछिल्लो समय ओली र भण्डारीबीच भेटवार्ता हुनुका साथै महासचिव शंकर पोखरेलसँग पनि भण्डारीको भेट भएको थियो।
एमालेले पछिल्लो निर्वाचनमा व्यहोरेको राजनीतिक धक्कापछि नेतृत्वमा विकल्पबारे बहस चलिरहेका बेला भण्डारीलाई वरिष्ठ नेताका रूपमा अघि सार्ने प्रस्ताव आएको हो। एमाले र नेकपाबीच सहकार्य तथा सम्भावित एकताको बहस चलिरहेका कारण भण्डारीको पुनरागमनलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।
भण्डारी यसअघि एमाले उपाध्यक्ष हुँदै राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी थिइन्। राष्ट्रपति पदबाट अलग भएपछि उनी पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।
प्रतिक्रिया दिनुहोस