काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गतेका लागि तय भएका निर्वाचन कार्यक्रम स्थगित भएका छन्।
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चयनका लागि निर्धारित निर्वाचन कार्यक्रम असोज १२ गते सञ्चालन गर्ने निर्णय भएको जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पुरुषोत्तम तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निरन्तर वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला कार्यसमिति, प्रतिनिधिसभा र प्रदेशसभा बैठकबाट प्राप्त सिफारिस तथा सूचनाका आधारमा निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख छ।
यसअघि असोज ३ गतेदेखि सुरु भएको १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। अब क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि चयनका बाँकी निर्वाचन प्रक्रिया असोज १२ गते अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।
वर्षाका कारण यातायात तथा आवागमनमा देखिएको समस्या र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस