२०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

अविरल वर्षाले पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध


१२४९ पाठक संख्या
  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित १९ घण्टा अघि
  • काठमाडौं, ९ असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। पहिरोका कारण दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो।

    उनका अनुसार कृष्णभिर र तिगराङ खोलामा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। अन्य स्थानमा भने पहिरोका कारण सडक साँघुरिएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

    कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। तर, अन्य स्थानमा निरन्तर वर्षा हुनुका साथै माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठिनाइ भइरहेको डीएसपी दाहालले बताए।

    लगातारको वर्षासँगै पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम बढेपछि यात्रु तथा चालकलाई सडकको अवस्था र मौसमको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑