२७ असोज, काठमाडौं । दशैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गरी विशेष सुरक्षा योजना लागू गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको हो।
सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् भने अन्तर्राष्ट्रिय सीमाका १०८ स्थानमा हेल्प डेस्क सञ्चालन गरी थप प्रहरी परिचालन गरिएको छ। लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको सुरक्षा, चालकको अवस्था, सवारीको प्राविधिक परीक्षण तथा ट्राफिक नियमको पालना अनुगमन गरिने प्रहरीले जनाएको छ।
बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मुख्य सडक र बजार क्षेत्रमा सुरक्षा निगरानी बढाइनेछ। सुरक्षाका लागि सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिनेछ।
चाडपर्वका बेला नक्कली अनलाइन सपिङ, बैंकिङ ठगी तथा उपहारको प्रलोभनमा पारेर हुने डिजिटल अपराध बढ्न सक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ। प्रहरीले अपरिचित व्यक्तिलाई ओटीपी, पिन तथा पासवर्डजस्ता गोप्य विवरण नदिन र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।
प्रहरीका अनुसार नागरिक–प्रहरी सहकार्यलाई प्राथमिकता दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र अधिकार संरक्षणमा समेत विशेष ध्यान दिइनेछ।


प्रतिक्रिया दिनुहोस