काभ्रेपलाञ्चोक । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दसैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी पूजापाठ र ध्यान गर्ने परम्परा छ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ। देवीको आराधनाले शक्ति, साहस, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको विशेष पूजा आराधना गर्नाले शक्ति प्राप्त हुने विश्वासका आधारमा भक्तजनले विधिपूर्वक साधना गर्ने गर्छन्। उपप्राध्यापक चिन्तामणि भट्टराईले चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने धार्मिक मान्यता रहेको बताए।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टासहित नवदुर्गाका नौ स्वरूपको क्रमशः पूजा आराधना गरिन्छ।
यस अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने परम्परा छ।


प्रतिक्रिया दिनुहोस