काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। रूपरेखामा पार्टी सचिवालयले निश्चित पदका उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
बुधबार सार्वजनिक रूपरेखाअनुसार सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो व्यवस्था गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष पदका उम्मेदवार छनोटमा लागू हुनेछ।
त्यस्तै, महानगरपालिकाको हकमा वडा सदस्य, वडाध्यक्ष, उपप्रमुख र प्रमुख पदका उम्मेदवार छनोटमा समेत अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सकिने उल्लेख छ।
रूपरेखाले उम्मेदवार छनोटका लागि निर्धारित विधि र प्रक्रियाभन्दा बाहिर जानुपर्ने असाधारण परिस्थिति उत्पन्न भएमा विशेष अनुमोदनको व्यवस्था पनि गरेको छ।
रूपरेखाको बुँदा नम्बर ३० मा उल्लेख भएअनुसार, पार्टीबाट अनुमोदन भई लागू भएको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएमा त्यस्तो निर्णयलाई पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट अनुमोदन गराउनुपर्नेछ।
यस्तो असाधारण अवस्थामा पनि पार्टी विधानअनुसार उम्मेदवार छनोटको वैकल्पिक प्रारूप अनिवार्य रहने व्यवस्था गरिएको छ। उक्त प्रारूपमा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचनसम्बन्धी व्यवस्था समेटिनुपर्नेछ। यसका लागि रूपरेखामा पार्टी विधानको धारा ७(३), ६४ र ६५ लाई आधारका रूपमा उल्लेख गरिएको छ।
रास्वपाले सार्वजनिक गरेको उम्मेदवार छनोट रूपरेखाले स्थानीय तहका विभिन्न पदमा उम्मेदवार चयन गर्ने प्रक्रिया, सचिवालयले प्रयोग गर्न सक्ने विशेषाधिकारको सीमा तथा असाधारण परिस्थितिमा निर्णय अनुमोदन गर्नुपर्ने प्रावधानलाई समेटेको छ।


प्रतिक्रिया दिनुहोस