काठमाडौं, ५ कात्तिक । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा भारतीय र पाकिस्तानी नागरिक एक–एक जना घाइते भएका छन् ।
साउदी अरबको ऊर्जा मन्त्रालयले बुधबार भएको घटनामा नेपाली र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै अवरोध गरिएको थियो । त्यसपछि खसेको ड्रोनको भग्नावशेष तेल केन्द्रमा खस्दा क्षति पुगेको थियो । भग्नावशेषका कारण केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको मन्त्रालयले जनाएको छ ।
घटनामा संलग्न ड्रोन कसले प्रक्षेपण गरेको हो भन्नेबारे भने साउदी सरकारले स्पष्ट पारेको छैन । यद्यपि, पछिल्लो समय यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार अराम्को केन्द्रमा भएको पछिल्लो घटना साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा हो ।
साउदी अरबमा पछिल्लो समय विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणमा मानवीय क्षति बढ्दै गएको छ ।
बुधबार पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
यसअघि अक्टोबर ११ मा राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको थियो ।
गत महिना पनि हुथी विद्रोहीको ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेष लागेर साउदी अरबमा एक यमनी नागरिकको मृत्यु भएको थियो । विभिन्न विवरणअनुसार हुथी विद्रोहीका आक्रमण तीव्र भएपछि भग्नावशेषका कारण सर्वसाधारणको ज्यान गएको त्यो पहिलो घटना थियो ।
यसै महिनाको सुरुमा साउदी अरबको पूर्वी प्रान्तस्थित अराम्कोको एक केन्द्रमा भएको आक्रमणपछि प्रशासनिक भवनमा सीमित आगलागी भएको ऊर्जा मन्त्रालयले जनाएको थियो ।
यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त सरकारी सेनाबीच पुनः द्वन्द्व चर्किएसँगै क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ । चार वर्षदेखि कायम रहेको युद्धविराम भंग भएपछि यमनको द्वन्द्वले पुनः उग्र रूप लिएको हो ।
यमनको द्वन्द्व र त्यससँग जोडिएका आक्रमणले साउदी अरबका महत्त्वपूर्ण पूर्वाधार तथा सर्वसाधारणको सुरक्षामा चुनौती थपेको छ ।
यसैबीच, अमेरिकाले साउदी अरबमा रहेका आफ्ना गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले बुधबार यस्तो निर्णय हुथी विद्रोहीका आक्रमण, विशेषगरी विमानस्थललाई लक्षित गरी भइरहेका हमलासँग सम्बन्धित रहेको बताएका छन् ।
पिगोटले सामाजिक सञ्जाल एक्समार्फत विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा अमेरिकी सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गरेका छन् । उनीहरूको सुरक्षा र सहयोगका लागि आवश्यक सबै कदम चालिरहने पनि उनले बताएका छन् ।
साउदी अरबमा नेपाली नागरिकको मृत्युसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासोको विषय बनेको छ । क्षेत्रीय तनाव र निरन्तर भइरहेका आक्रमणका कारण साउदी अरबमा रहेका नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई लिएर थप सतर्कता आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस