विराटनगर, १३ असोज । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमा नजिकै मंगलबार राति प्रहरीले चलाएको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट करिब पाँच सय ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली तथा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारतको अररिया जिल्ला कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै जनाको घुँडामुनि गोली लागेको र उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली परिचालन भएको थियो । प्रहरीका अनुसार मंगलबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ को मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो ।
तर, प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको डीएसपी मिश्रले बताए । उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी कुल आठ राउन्ड गोली प्रहार गरेको थियो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब पाँच सय ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए । घटनामा उनीहरूको संलग्नता, लागुऔषधको स्रोत तथा कारोबारको सञ्जालबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस