२०८३ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2026

नगर नेतृत्वदेखि कांग्रेस केन्द्रीय सदस्यसम्म : खरेललाई पाँचखालका कर्मचारीको सम्मान


६९२५ पाठक संख्या
  • २०८३ कार्तिक १४, शुक्रबार मा प्रकाशित २३ घण्टा अघि
  • पिताको राजनीतिक विरासत पछ्याउँदै राष्ट्रिय राजनीतिमा खरेलको छलाङ

    काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललाई नगरपालिका कर्मचारीहरूले भव्य रूपमा सम्मान तथा बधाई ज्ञापन गरेका छन्।

    नगरप्रमुख खरेलको राजनीतिक सफलताको प्रशंसा गर्दै पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्चना खड्का अधिकारीको नेतृत्वमा पुगेको कर्मचारी टोलीले उहाँलाई सम्मान गरेको हो। टोलीमा शाखा अधिकृत कल्याण सुवेदीलगायत विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता थियो।

    कार्यालय समय समाप्त भएपछि साँझ ५ः३० बजे नगरप्रमुख खरेलको आवास कक्षमा पुगेका कर्मचारीहरूले उहाँलाई सम्मानपत्र तथा शुभकामनासहित बधाई ज्ञापन गरेका थिए। सो अवसरमा कर्मचारीहरूले पाँचखाल नगरपालिकाको नेतृत्वमा रहँदा  १० वर्षसम्म नगरवासीको हित, विकास र समृद्धिका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय तहको अनुभव र कार्यकुशलतालाई राष्ट्रिय राजनीतिमा समेत उपयोग गर्न आग्रह गरेका थिए।

    अमेरिकामा करिब १४ वर्ष व्यवसाय गरेर बिताएका खरेल जन्मभूमि नेपालको मुहार परिवर्तन गर्ने दृढ सङ्कल्पसहित त्यहाँको सुखसुविधा त्यागेर स्वदेश फर्किएका व्यक्ति हुन्। विदेशमा आर्जन गरेको अनुभव, सीप र सम्भावनालाई आफ्नै देशको विकासमा लगाउने उद्देश्यले उहाँले राजनीतिलाई कर्मक्षेत्रका रूपमा रोज्नुभएको थियो।

    राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेसका विभिन्न तह र पदमा उम्मेदवारी दिँदै आउनुभएका खरेलले अहिलेसम्म कुनै पनि निर्वाचनमा पराजय भोग्नुपरेको छैन। उहाँले आफ्ना पिता तथा पूर्वशिक्षामन्त्री स्वर्गीय राजेन्द्र खरेलले देखाउनुभएको राजनीतिक मार्गलाई पछ्याउँदै देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। पिताले देखेका सपना र अधुरा योजनालाई पूरा गर्नु आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण उद्देश्य रहेको उहाँको भनाइ रहँदै आएको छ।

    सम्मान कार्यक्रममा नगरप्रमुख खरेलकी आमा देवकी खरेल पनि उपस्थित हुनुहुन्थ्यो। छोराले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण सफलता हासिल गरेको अवसरमा कर्मचारीहरूबाट प्राप्त सम्मानले उहाँलाई भावुक र हर्षित बनाएको थियो।

    सो क्रममा स्वर्गीय पति राजेन्द्र खरेललाई स्मरण गर्दै देवकी खरेलले छोराले पिताले देखाउनुभएको बाटो नछाडेर निरन्तर अघि बढ्ने र उहाँका अधुरा सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। राजनीतिक यात्राका क्रममा आफू र स्वर्गीय पति राजेन्द्र खरेलले विगतमा भोग्नुपरेका सङ्घर्ष र पीडाका केही प्रसङ्गसमेत उहाँले भावुक हुँदै स्मरण गर्नुभएको थियो।

    स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा थप जिम्मेवारी सम्हाल्ने तहमा पुगेका खरेललाई कर्मचारीहरूले गरेको सम्मानलाई उहाँको राजनीतिक उपलब्धिप्रतिको कदरका रूपमा हेरिएको छ। नगरपालिकाको नेतृत्वमा हासिल गरेको अनुभवलाई अब राष्ट्रिय स्तरमा देश र जनताको हितमा उपयोग गर्नुपर्ने अपेक्षासमेत कर्मचारीहरूले व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑