२०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न मिल्दैन : पूर्वअध्यक्ष आचार्य


२४१३ पाठक संख्या
  • २०८३ कार्तिक १४, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं, १३ कात्तिक । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने बताएका छन् । उनले समाचारको विषयवस्तुप्रति असहमति वा आपत्ति भए त्यसलाई सम्बोधन गर्ने कानुनी प्रक्रिया र संस्थागत संयन्त्र हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्ने कार्य उचित नहुने स्पष्ट पारेका छन् ।

    नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको तथा नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीको खोजी गर्दै सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको घटनाप्रति प्रतिक्रिया दिँदै आचार्यले समाचार लेखेकै आधारमा पत्रकारमाथि पक्राउको कारबाही अघि बढाउन नमिल्ने बताएका हुन् ।

    उनका अनुसार नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । त्यसैले समाचारको विषयवस्तुलाई लिएर कुनै प्रश्न वा विवाद उत्पन्न भए पनि त्यसको समाधान संविधान र प्रचलित कानुनले व्यवस्था गरेका प्रक्रियाबाट खोजिनुपर्छ । समाचारप्रति असन्तुष्टि व्यक्त गर्ने वा त्यसमा त्रुटि रहेको दाबी गर्ने पक्षले कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

    आचार्यले समाचार गलत वा तथ्यहीन भएको अवस्थामा त्यसलाई सच्याउने, खण्डन गर्ने तथा आवश्यक परे कानुनी प्रक्रियामार्फत कारबाही अघि बढाउने व्यवस्था रहेको उल्लेख गरे । तर, समाचार प्रकाशन गरेकै कारण पत्रकारलाई पक्राउ गर्नुले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने उनको तर्क छ ।

    ‘समाचारको विषयवस्तु गलत छ भने सच्याउने प्रक्रिया छन् । त्यतिले नपुगे कारबाही गर्ने छुट्टै संयन्त्र छ,’ आचार्यले भने, ‘तर समाचार लेखेकै आधारमा पक्राउ गर्न मिल्दैन । त्यसो गरियो भने गैरसंवैधानिक काम हुन जान्छ । हाम्रो संविधान र कानुनले त्यस्तो परिकल्पना गरेको छैन ।’

    उनले समाचारमा प्रकाशित विषयवस्तुलाई लिएर उत्पन्न हुने विवादको निरूपण कानुनी विधि र स्थापित प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिएका छन् । समाचारको सत्यता, तथ्यगत शुद्धता वा त्यसबाट उत्पन्न विवादको विषयलाई कानुनी प्रक्रियाबाट सम्बोधन गर्न सकिने भए पनि पत्रकारलाई पक्राउ गरेर समस्याको समाधान खोज्नु संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अवधारणासँग मेल नखाने उनको भनाइ छ ।

    पत्रकार सुवेदीलाई नियन्त्रणमा लिइएको र अर्का पत्रकार मैनालीको खोजी गर्दै प्रहरी सञ्चारमाध्यमको कार्यालयसम्म पुगेको घटनाले पत्रकारिता क्षेत्रको सुरक्षा, प्रेस स्वतन्त्रता र समाचार लेखेकै आधारमा पत्रकारमाथि हुन सक्ने कानुनी कारबाहीको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

    प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएकाले समाचारप्रति असहमति भए त्यसको निरूपण पनि लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने आचार्यको प्रतिक्रियाले स्पष्ट पारेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑