काठमाडौं, १२ कात्तिक। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्।
प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाइएकै समयमा सातै प्रदेशका डीआईजीलाई समेत काठमाडौं उपस्थित हुन भनिएपछि प्रहरी संगठनभित्र चासो बढेको छ।
आईजीपी कार्कीले पीसीसीको बैठक बोलाएका छन्। उक्त बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुने व्यवस्था छ। यसैबीच, सातै प्रदेशका डीआईजीलाई पनि प्रहरी प्रधान कार्यालयमा बोलाइएपछि उनीहरूको उपस्थितिको उद्देश्यबारे विभिन्न चासो उत्पन्न भएको छ।
प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई काठमाडौं आउन मंगलबार नै निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार केही डीआईजी प्रहरी प्रधान कार्यालय पुगिसकेका छन् भने केही आउने क्रममा छन्।
‘डीआईजीहरूलाई हिजो नै आउन भनिएको थियो। त्यसअनुसार केही आइसक्नुभएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भनेको छ।
यद्यपि, सातै प्रदेशका डीआईजीलाई एकैपटक प्रहरी प्रधान कार्यालयमा बोलाउनुको औपचारिक कारण भने सार्वजनिक भएको छैन। उनीहरूलाई पीसीसी बैठकसँग सम्बन्धित कुनै छलफल, संगठनात्मक समन्वय वा अन्य विषयमा परामर्शका लागि बोलाइएको हो भन्नेबारे पनि स्पष्ट जानकारी प्राप्त भएको छैन।
प्रहरी प्रधान कार्यालयबाट यस विषयमा औपचारिक धारणा सार्वजनिक नभएसम्म डीआईजीहरूको उपस्थितिको उद्देश्यबारे यकिन गर्न सकिने अवस्था छैन। बैठकमा के विषयमा छलफल हुन्छ र सातै प्रदेशका प्रहरी नेतृत्वलाई बोलाउनुको कारण के हो भन्ने विषय थप स्पष्ट हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस