२०८३ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2026

सामाजिक सञ्जाललाई ज्ञानको मञ्च बनाउँदै माधवप्रसाद पन्त, ‘अनलाइन क्विज हन्ट’बाट ज्ञान र प्रतिभाको खोजी


३९०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ कार्तिक १४, शुक्रबार मा प्रकाशित २२ घण्टा अघि
  • विशेष अन्तरवार्ता

    सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको सदुपयोग र दुरुपयोगबारे बहस भइरहेका बेला शिक्षक माधवप्रसाद पन्तले फेसबुकलाई ज्ञान, मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउने प्रयास गरिरहेका छन्। शिक्षण पेसामा आबद्ध पन्तले आफ्नो लामो अनुभव र हाजिरीजवाफ प्रतियोगिताप्रतिको रुचिलाई जोड्दै पछिल्लो छ महिनादेखि फेसबुक लाइभमार्फत ‘अनलाइन क्विज हन्ट’ सञ्चालन गर्दै आएका छन्।

    विद्यालय जीवनदेखि नै हाजिरीजवाफ प्रतियोगितामा रुचि राख्ने पन्तले विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कारसमेत जितेका थिए। त्यसपछि रेडियो नमोबुद्धमा एक दशकभन्दा बढी समय ‘प्रश्नोत्तर’ नामक कार्यक्रम सञ्चालन गरेको अनुभवलाई अहिले उनले सामाजिक सञ्जालमा विस्तार गरेका छन्।

    हरेक बुधबार र शनिबार बेलुका ८ देखि ९ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका व्यक्ति तथा सामान्य ज्ञानमा रुचि राख्ने जोकोही सहभागी हुन सक्छन्। सहभागीको ज्ञान परीक्षणसँगै नयाँ कुरा सिक्ने अवसर प्रदान गर्ने कार्यक्रममा उत्कृष्ट दुई सहभागीलाई नगद पुरस्कारसमेत प्रदान गरिन्छ।

    सामाजिक सञ्जालको सकारात्मक प्रयोग, कार्यक्रमको उद्देश्य, विशेषता, सहभागिता र यसको प्रभावकारितालगायत विषयमा ‘अनलाइन क्विज हन्ट’का सञ्चालक माधवप्रसाद पन्तसँग संम्पादक इस्वरी राजकुमार मैनालीले गरेको गरिएको कुराकानीको सम्पादित अंश :

    १. नमस्कार सर, आराम हुनुहुन्छ ?

    नमस्कार ! म आरामै छु। यहाँलाई पनि सन्चै छ भन्ने अपेक्षा गरेको छु।

    २. तपाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आउनुभएको रहेछ। सर्वप्रथम आफ्नो पेसा र कार्यक्रमसँगको आबद्धताबारे बताइदिनुहोस् न।

    म विगत १९ वर्षदेखि शिक्षण पेसामा आबद्ध छु। शिक्षण कार्यसँगै पछिल्लो छ महिनादेखि सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ‘अनलाइन क्विज हन्ट’ नामक हाजिरीजवाफ कार्यक्रम सञ्चालन गर्दै आएको छु। शिक्षण पेसाबाट प्राप्त अनुभव र हाजिरीजवाफ प्रतियोगिताप्रतिको पुरानो रुचिलाई सामाजिक सञ्जालसँग जोडेर यो अभियान अगाडि बढाएको हुँ।

    ३. सामाजिक सञ्जालको सदुपयोग गर्दै ज्ञानमूलक कार्यक्रम सञ्चालन गर्नुभएको रहेछ। हाजिरीजवाफ अर्थात् क्विज कार्यक्रमको अवधारणा र महत्त्वबारे प्रस्ट पारिदिनुहोस् न।

    हाजिरीजवाफ (क्विज) कुनै पनि विषयमा सोधिएका प्रश्नको तत्काल वा निर्धारित समयभित्र उत्तर दिने एक प्रकारको बौद्धिक खेल तथा प्रतियोगिता हो। यसको मुख्य उद्देश्य सहभागीको सामान्य ज्ञान, स्मरणशक्ति, तार्किक क्षमता र तत्काल निर्णय लिन सक्ने क्षमताको परीक्षण गर्नु हो।

    विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त क्रियाकलापका रूपमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुँदै आएको छ। त्यस्तै, रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट पनि यस्ता कार्यक्रम प्रसारण हुँदै आएका छन्। यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउनुका साथै अध्ययनप्रति रुचि जगाउन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

    ४. शिक्षण पेसामा व्यस्त रहँदारहँदै पनि फेसबुक लाइभमार्फत क्विज कार्यक्रम सञ्चालन गर्ने सोच कसरी आयो ?

    मलाई विद्यालयमा अध्ययन गर्दादेखि नै हाजिरीजवाफ प्रतियोगिताप्रति गहिरो रुचि थियो। विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगितादेखि अन्तरविद्यालय तथा क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा समेत सहभागी हुने अवसर पाएँ। विभिन्न प्रतियोगितामा सहभागी भएर प्रथम पुरस्कारसमेत हासिल गरेको अनुभव छ।

    पछि रेडियो नमोबुद्धमा एक दशकभन्दा बढी समय ‘प्रश्नोत्तर’ नाम दिएर क्विज कार्यक्रम सञ्चालन गर्ने अवसर पाएँ। त्यसबाट प्राप्त अनुभव, सिकाइ र ज्ञानलाई अहिले पूँजीका रूपमा प्रयोग गरिरहेको छु। प्रविधिको विकाससँगै कार्यक्रमलाई अझ धेरै मानिससम्म पुर्‍याउन सकिने सम्भावना देखेपछि फेसबुक लाइभमार्फत ‘अनलाइन क्विज हन्ट’ सञ्चालन गर्ने सोच बनाएको हुँ।

    ५. रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाजस्ता सञ्चारमाध्यम हुँदाहुँदै फेसबुक नै कार्यक्रम सञ्चालनको माध्यम रोज्नुको खास कारण के हो ?

    अहिलेको युग सूचना र प्रविधिको युग हो। शिक्षा अब कक्षाकोठाभित्र मात्र सीमित छैन। मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको उचित प्रयोग गर्न सके ज्ञानको संसार हरेक व्यक्तिको हातमा पुर्‍याउन सकिन्छ।

    यही सम्भावनालाई आत्मसात् गर्दै ज्ञान, मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘अनलाइन क्विज हन्ट’ सञ्चालनमा ल्याएको हुँ। सामाजिक सञ्जाललाई केवल मनोरञ्जन र समय बिताउने माध्यमका रूपमा मात्र नभई सिकाइ र ज्ञान आर्जनको प्रभावकारी साधनका रूपमा विकास गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।

    यो कार्यक्रम फेसबुकमा ‘Madhav Prasad Panta’ को आइडीमार्फत हरेक बुधबार र शनिबार बेलुका ८ बजेदेखि ९ बजेसम्म प्रत्यक्ष प्रसारण हुने गर्दछ।

    ६. यस कार्यक्रमबाट कस्ता व्यक्तिले लाभ लिन सक्छन् ? सहभागीले के–कस्ता ज्ञान र सीप हासिल गर्न सक्छन् ?

    ‘अनलाइन क्विज हन्ट’ केवल प्रश्नोत्तरमा सीमित कार्यक्रम होइन। यो सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउने एउटा शैक्षिक प्रयास हो। विद्यार्थी, शिक्षक, अभिभावकदेखि लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरू तथा सामान्य ज्ञानमा रुचि राख्ने सबैका लागि यो कार्यक्रम उपयोगी छ।

    यसमा सहभागी भएर जोकोहीले आफ्नो ज्ञानको परीक्षण गर्न, नयाँ विषयबारे जानकारी हासिल गर्न र आत्मविश्वास अभिवृद्धि गर्न सक्छन्। कार्यक्रममा जम्मा ३० सेकेन्डभित्र पाँचवटा प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था छ। यसले सहभागीलाई छिटो सोच्न, सही निर्णय लिन र समय व्यवस्थापन गर्नसमेत अभ्यस्त बनाउँछ।

    आजका विद्यार्थीले परीक्षामा उत्तीर्ण हुनु मात्र पर्याप्त छैन। उनीहरूमा व्यापक ज्ञान, तार्किक क्षमता र विश्लेषणात्मक सोचको विकास पनि उत्तिकै आवश्यक छ। नियमित सहभागिताले सामान्य ज्ञानको स्तर वृद्धि गर्नुका साथै प्रतियोगितात्मक परीक्षाको तयारीमा समेत सहयोग पुग्छ। यसले स्मरणशक्ति, निर्णय क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्दछ।

    ७. कार्यक्रम नितान्त शैक्षिक, बौद्धिक र प्रतियोगितात्मक रहेछ। यसमा कस्ता–कस्ता विषय क्षेत्र समेटेर प्रश्न तयार गर्नुहुन्छ ?

    कार्यक्रममा सामान्य ज्ञान, समसामयिक घटना, नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक अध्ययन, इतिहास, भूगोल, अर्थशास्त्र, नेपालको संविधानलगायत विविध विषय क्षेत्रका प्रश्नहरू समावेश गर्ने गरिएको छ।

    प्रश्न तयार गर्दा सहभागीको उमेर, शैक्षिक स्तर र ज्ञानको दायरालाई ध्यान दिने प्रयास गर्छु। पाठ्यपुस्तकमा आधारित विषयसँगै दैनिक जीवनमा उपयोगी हुने तथा पाठ्यक्रमबाहिरका ज्ञानमूलक विषयलाई पनि प्राथमिकता दिइन्छ। यसले सहभागीलाई विद्यालय तथा कक्षाकोठाको सिकाइभन्दा बाहिरको ज्ञानसँग जोड्ने अवसर प्रदान गर्दछ।

    ८. ‘अनलाइन क्विज हन्ट’ कार्यक्रमका प्रमुख विशेषताहरू के–के हुन् ?

    यस कार्यक्रमका केही विशिष्ट विशेषताहरू छन्। पहिलो, सहभागी हुन कुनै निश्चित स्थानमा उपस्थित हुनुपर्दैन। घरमै बसेर मोबाइल फोन र इन्टरनेटको सहायताले सहज रूपमा सहभागी हुन सकिन्छ।

    दोस्रो, नियमित रूपमा ज्ञानमूलक र गुणस्तरीय प्रश्नहरू समावेश गरिन्छ। तेस्रो, उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई नगद पुरस्कार प्रदान गरिन्छ। त्यसैगरी फेसबुक लाइभमार्फत प्रत्यक्ष सहभागिता, प्रश्नोत्तर तथा अन्तरक्रिया गर्ने अवसर पनि उपलब्ध छ।

    सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कार्यक्रम कुनै निश्चित उमेर वा शैक्षिक समूहमा मात्र सीमित छैन। ज्ञान हासिल गर्न र आफ्नो क्षमता परीक्षण गर्न चाहने सबै उमेर समूहका व्यक्तिका लागि खुला छ।

    ९. कार्यक्रम सञ्चालन गर्नुको मूल लक्ष्य र उद्देश्य के हो ?

    सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई शिक्षाको सशक्त साधनका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। मोबाइलमा केही समय बिताउने हो भने त्यो समय ज्ञान आर्जनमा पनि लगाउन सकिन्छ भन्ने सोचको विकास गराउनु अर्को उद्देश्य हो।

    मेरो दृढ विश्वास छ– ‘ज्ञान बाँड्दा घट्दैन, झन् बढ्छ।’ यही मान्यताका साथ देशभरका विद्यार्थी, शिक्षक तथा ज्ञानप्रेमी नागरिकलाई एउटै डिजिटल मञ्चमा जोड्ने प्रयास गरिरहेको छु।

    यस अभियानमार्फत नयाँ प्रतिभाको पहिचान, अध्ययन संस्कृतिको विकास, बौद्धिक क्षमताको अभिवृद्धि र सकारात्मक डिजिटल समुदाय निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छु। प्रतिस्पर्धाका माध्यमबाट सिक्ने र सिकाउने संस्कृतिको विकास गर्न सके यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ भन्ने विश्वास छ।

    १०. कार्यक्रममा सहभागी हुने प्रक्रिया के छ ? उत्कृष्ट सहभागीका लागि पुरस्कारको पनि व्यवस्था गर्नुभएको छ कि ?

    कार्यक्रममा सहभागी हुन दुईवटा माध्यम छन्। पहिलो, फेसबुक लाइभमा प्रत्यक्ष रूपमा कल गरेर प्रश्नको उत्तर दिन सकिन्छ। दोस्रो, कमेन्टमार्फत पनि सहभागी हुन सकिन्छ। कुनै प्राविधिक समस्या आएमा ह्वाट्सएपमार्फत कल गरेर पनि सहभागी हुने व्यवस्था मिलाइएको छ। यसरी देश तथा विदेशमा रहेका इच्छुक व्यक्तिले सहजै सहभागिता जनाउन सक्छन्।

    सहभागीको ज्ञानको कदर र प्रतिभाको सम्मान गर्ने उद्देश्यले प्रत्येक कार्यक्रममा उत्कृष्ट दुई जना सहभागीलाई जनही एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ। जुनसुकै स्थानबाट सहभागी भएर विजेता बन्न सकिने भएकाले पुरस्कार रकम ई–सेवामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    यस कार्यक्रमलाई बनेपा, काभ्रेपलाञ्चोकमा रहेको बेलर इन्टरनेसनल एकेडेमीले प्रायोजन गरेको छ। प्रायोजक संस्थाको सहयोगले पुरस्कार व्यवस्थापन गर्न सहज भएको छ। यसका लागि प्रायोजक संस्थाप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु।

    ११. एक घण्टा सञ्चालन हुने कार्यक्रममा सहभागीको उपस्थिति र सक्रियता कस्तो पाउनुभएको छ ?

    कार्यक्रमको निर्धारित अवधि एक घण्टा भए पनि सहभागीहरूको सक्रियता र उत्साहका कारण समय बितेको पत्तै हुँदैन। एक पटकको कार्यक्रममा औसतमा १३ जना सहभागीले प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ। कमेन्टमार्फत सहभागी हुनेहरूको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ।

    सहभागीहरूले देखाउनुभएको रुचि, जिज्ञासा र सक्रियताले कार्यक्रमलाई निरन्तरता दिन थप ऊर्जा र प्रेरणा मिलेको छ। सहभागीहरूबीच हुने ज्ञान आदानप्रदान र अन्तरक्रियाले कार्यक्रमलाई अझ रोचक बनाएको छ।

    १२. फेसबुक लाइभमार्फत सञ्चालन भइरहेको यो कार्यक्रम भौगोलिक रूपमा कहाँसम्म विस्तार भएको छ ?

    अहिले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभाव व्यापक हुँदै गएको छ। यसको सकारात्मक पक्षलाई उपयोग गर्दा भौगोलिक दूरीले ज्ञान आदानप्रदानमा अवरोध गर्दैन भन्ने कुरा यस कार्यक्रमले पनि देखाएको छ।

    हाल पाँचवटा प्रदेशबाट सहभागीहरूले कार्यक्रममा जोडिने गर्नुभएको छ। केही साथीहरू विदेशबाट समेत सहभागी हुनुहुन्छ। सामाजिक सञ्जालमार्फत कार्यक्रमको सूचना तथा जानकारी सेयर गरेर धेरै साथीहरूले सहयोग गरिरहनुभएको छ। अनलाइन समाचारमाध्यममार्फत पनि कार्यक्रमको जानकारी धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउने प्रयास गरेको छु।

    अहिलेसम्म प्राप्त सहभागिता र प्रतिक्रियाले उत्साहित बनाएको छ। आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र व्यापक बनाउँदै देशभरका ज्ञानप्रेमी व्यक्तिहरूसम्म पुर्‍याउने विश्वास लिएको छु।

    १३. अन्त्यमा, हाम्रा पाठक तथा ज्ञानप्रेमी व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ ?

    ‘अनलाइन क्विज हन्ट’ कार्यक्रमको उद्देश्य र भावना मैले लेखेका यी कविताका हरफले पनि प्रस्ट पार्छन् :

    ज्ञानको दीप बाल्ने एउटा सुन्दर अभियान,
    प्रश्नभित्र लुकेको हुन्छ सफलताको पहिचान।
    सिक्दै अघि बढ्ने यही हो हाम्रो सच्चा बाटो,
    प्रतिभाको सम्मान कार्यक्रमको सुनौलो पाटो।

    अन्त्यमा, शिक्षण पेसामा आबद्ध रहँदै रेडियो नमोबुद्धमा एक दशकभन्दा बढी समय ‘प्रश्नोत्तर’ कार्यक्रम सञ्चालन गर्दाको अनुभवलाई पूँजीका रूपमा प्रयोग गरी सामाजिक सञ्जालको सदुपयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।

    ज्ञान बाँड्ने, सिक्ने र सिकाउने पवित्र उद्देश्यका साथ सञ्चालन भइरहेको यस कार्यक्रममा समग्र पाठकवर्ग तथा ज्ञानप्रेमी व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछु।

    आउनुहोस्, सिकाइलाई अझ रमाइलो बनाऔँ। ज्ञानको खोजी गरौँ, प्रतिभालाई उजागर गरौँ र सफलताको यात्रामा सँगसँगै अघि बढौँ।

    अन्त्यमा, आफ्ना विचार र अभियानलाई यहाँको सञ्चारमाध्यममार्फत धेरै पाठकसमक्ष पुर्‍याउने अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑