
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्ने कार्य विधिको शासन र प्रेस स्वतन्त्रतामाथिको ठाडो उल्लङ्घन भएको जनाएको छ। पार्टीले स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै पत्रकारलाई नियन्त्रणमा लिने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन नसक्ने स्पष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रकाशित समाचारकै आधारमा सञ्चारगृहमा पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको समेत खोजी भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो धारणा सार्वजनिक गरेको हो।
पार्टीले कुनै पनि समाचार सामग्रीप्रति कसैको विमति, असहमति वा कानुनी गुनासो भए त्यसको निरूपणका लागि राज्यले स्थापित गरेका स्पष्ट कानुनी प्रक्रिया, न्यायिक संयन्त्र तथा नियमनकारी निकायहरू रहेको उल्लेख गरेको छ। ती प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको मर्मविपरीत हुने रास्वपाको ठहर छ।
रास्वपा प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो। यस्ता कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन।’
रास्वपाले कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको व्यावसायिक गरिमामाथि प्रहार गर्ने तथा लोकतान्त्रिक संस्थाहरूको कार्यक्षेत्र सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल हुन नसक्ने जनाएको छ।
पार्टीका अनुसार प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै प्रहार हो। समाचारको स्रोतको गोपनीयता संरक्षण गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्मसमेत भएकाले त्यसको सम्मान हुनुपर्ने रास्वपाको धारणा छ।
पत्रकारहरूलाई नियन्त्रणमा लिइएको र अन्य सञ्चारकर्मीको खोजी भइरहेको घटनाबारे निष्पक्ष, पारदर्शी तथा तथ्यपरक छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न पनि पार्टीले सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार आग्रह गरेको छ।
रास्वपाले सञ्चारकर्मीहरूलाई कुनै पनि भय, त्रास वा अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठामा आधारित पत्रकारिता निरन्तर अघि बढाउन आह्वान गर्दै समग्र सञ्चार जगत्प्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका सवालमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै पार्टीले सञ्चारकर्मी तथा सञ्चारमाध्यमका अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया दिनुहोस