२०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

मनाङमा वर्षाको वितण्डा बढ्दो, आज पनि भारी वर्षा र हिमपातको सम्भावना


६६७ पाठक संख्या
  • २०८३ कार्तिक १५, शनिबार मा प्रकाशित १ दिन अघि
  • १४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा हिमाली जिल्ला मनाङमा धेरै भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका अनुसार आज बिहान ६ः२४ बजेसम्म मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

    विभागका अनुसार २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी र २०० मिलिमिटरभन्दा कम वर्षा भएमा ‘धेरै भारी वर्षा’ मानिन्छ। त्यस्तै, २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति भारी वर्षा’ को श्रेणीमा राखिन्छ।

    बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ। हाल अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा मापन गरिएको छ।

    शुक्रबार राति १० बजेसम्मको विवरणअनुसार तीन घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा मुगुको ताल्चामा मापन गरिएको थियो। उक्त केन्द्रमा ७६.९ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

    त्यस्तै, शुक्रबार राति ११ः१० बजेसम्मको विवरणअनुसार एक घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सुर्खेतको रानीमत्ता मौसम मापन केन्द्रमा भएको थियो। उक्त केन्द्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो।

    मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरभन्दा कम वर्षा भएमा ‘भारी वर्षा’ भएको मानिन्छ।

    आज पनि वर्षा र हिमपातको सम्भावना

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज अपराह्नदेखि भने वर्षा गराउने प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑