
तपाई सामाजिक सेवामा रुची राख्ने व्यक्ति भनेर सुनिन्छ, किन तपाई राजनीतिमा आउनु भयो ? सामाजिक कार्यको लागि राजनीतिनै अनिवार्य छ र ?
मैले एस.एल.सि पास गरेपछि काठमाडौ बसे त्यतिखेर अध्ययन, व्यवसाय साथ साथै सामाजिक कार्यहरुमा पनि अग्रसर रहंदै अगाडी बढे । मैले राजनीतिमा प्रवेश गर्ने प्रमुख कारण मेरो आमा, बुवा र मामाको प्रेरणाले हो । मेरो आमाले मलाई सानै देखी समाजको सेवा गर्न सिकाउनु हुन्थ्यो । अनि मेरो बुवा देवसिंङ लामा कटुन्जेमा तीन पटक प्रधानपञ्च भएर स्थानियको सेवा गर्नु भएको थियो । मेरो मामा चमारसिं लामाले जिल्ला पञ्चायतको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहांहरुले मलाई सानैमा भन्ने गर्नुहुन्थ्यो मानिस भएर जन्मिएपछि पेट भर्ने र कमाउने मात्र काम गरेर हुंदैन, त्यस्तो त जस्ले पनि गर्छ । वास्तबमा मानिसको काम भनेको समाजको हित हुने कार्यमा लागि रहनु हो । मैले ति शब्दहरुलाई स्मरण गर्दै समाजसेवाको प्रमुख मार्ग राजनीति हो भन्ने लागेर अगाडी बढें ।
रोशी गाउंपालिकाको जिम्मेवारी सम्हाल्दै गर्दाको चार बर्षको अवधिमा के कती उपलब्धीहरु गनुभयो ?
उपलब्धीका कुराहरु गर्नुपर्दा के गरीयो के गरीएन भन्ने ? गरियो भन्दा के के गरीयो ? प्रत्यक्ष देखिने र हुन सक्ने कामहरु केही गरे जस्तो देखिदैन, गरिएन भन्दा धेरै कामहरु भएका छन् । मैले पुन दोहोर्याउन चाहे हामी जनताबाट निर्वाचित भएर आउंदा खेरी २० औं बर्षपछिको स्थानिय निर्वाचन भएकोले पुरानो दस्तावेज र कानुनहरु खारेज भएको अवस्था र नयाँ कानुनलाई कार्यान्ययन गर्दै अगाडी बढ्ने वेलामा हामी आफु स्वयं चल्ने कानुनहरु निर्माण गर्नुपर्ने रहेछ यि यस्ता यावत कुराहरु देखि लिएर नयाँ प्रकरण नयाँ प्रभाव जनताको धेरै भन्दा धेरै अभावहरुका मुद्धाहरुलाई उठाएर अगाडी बढीरहंदा खेरी आज सम्म आईपुग्दा मलाई लाग्छ मेरो चार बर्षे कार्यकालमा आफुले गरेको कार्यहरु बेकारमा समय व्यतित गरियो त भन्न सक्दिन तर मैले के गरे र कसो गरे मैले गर्न खोजेका कामहरु र गरिएका कामहरु कुन हदसम्म ठिक भयो र भएन भन्ने कुरा जनताले अनुभुति र मुल्यांकन गर्ने हो । त्यसैले मैले यो यो काम गरे भनेर ठोकुवासाथ गर्नुभन्दा पनि मैले गरेका दस्तावेजहरु जिवितै छन्, हामीले गरेका कार्यहरु स्पस्ट छर्लङ्गै छन् । त्यसैले यि मुल्याङ्कन गर्ने जिम्मा मिडिया लगाएत सम्पुर्ण जनताहरुलाई नै दिन चाहन्छु । मैले यो गरे भन्न चाहन्न ।
सुन्नमा आएको छ, रोशीका जनताहरु तपाई प्रति निकै खुसि छन् , डिविले पार्टी विचार नहेरी रोशीको विकासको लागि रोशी दलको आधारमा अगाडी बढेको छ भनिन्छनी वास्तबीक सत्यता के हो ?
तपाईले चुरो कुरा गर्नु भयो, सिंगो कार्यपालिका र रोशीमा रहेको १२ वडामा हामी बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु हुनुहुन्छ हामीले पहिलो कार्यपालिकाको बैठकमा राजनीतिक दलको रुपमा नभई रोशी गाउंपालिकाको हितको खातिर रोशी दल भएर उभिने भन्ने प्रण गरेका थियौं । सोही अनुसार आजको दिन सम्म हामी एउटै परिवारको रुपमा अगाडी बढेका छौं । सकभर कुनैपनि कुरालाई ट्य्रक आउट हुन नदिनको लागि जुटेका छौं । एउटै परिवार जसरी बसेपछि कहिले काँही केही दायाँ बाँया हुन सक्छ, तर पनि सहि ढंगबाट अगाडी बढ्ने जमर्को आजको दिन सम्म निरन्तरता छ ।
हामीले गरिएका कार्यहरुमा ठ्याक्कै भन्नु पर्दा गरेर पनि अलि असन्तुष्टि भएको छ । किनभन्दा असन्तुष्टिको पार्टहरु पनि छन् हामीमा । जनताको धेरै चाहनाहरु आवश्यकताहरु पुरा गर्ने हामीमा जिम्मेवार हुंदा हुंदै सुरुको पहिलो बर्ष बिभिन्न निति नियम बनाउंदै र सिक्दैमा सकियो जुन समयमा सहिढंगको योजनाहरु छान्न नसकेको हो की जस्तो अनुभुती भयो । पछिल्लो दुई बर्ष कोभिडको कारणले गर्दा हाम्रो समयहरु बरवाद भयो ।
त्यसको अलावा रोशीको मुल समस्या खोज्नको लागि कतै चुकेको होकी ? हामीले आफ्नो पार्टी आफ्नो जनता र आफ्नो भोटर साथै शुभचिन्तकहरुले सुचना दिएको आधारमा विकास दियौं या बजेट विनियोजन गरेउ अथवा जनताको वास्तविक समस्यालाई खोजेर सम्बोधन गर्न सकेउ यि कुराहरु स्पस्टता नभएको हुंदा कता कता व्यक्तिगत रुपमा मेरोमनमा इमान्दारिता साथ काम गरेर पनि अलिकति चित्त नबुझेको हो की भन्ने लागेको छ । रोशीमा मेरो कार्यकालमा जे जति काम भयो सो प्रति म स्वयंम सन्तुस्ट छैन, बजेटको कारणले धेरै काम हुन सकेको छैन तर थोरै बजेटबाट पनि महत्वपुर्ण कार्यको सुरुवात भने भएको छ ।
हाम्रो टिमले रोशीका जनतालाई ठगेर वा हामीले समय बरवाद गराएर दुख दिएका छैनौ । जनताको समय वरवाद गराएका छैनौं, हाम्रो एउटा उद्देश्य के हो भने भ्रष्टाचार पैसा लेनदेन मात्रै हैन, समय बरवाद पार्नुपनि भ्रष्टाचार हो । हामीले आजसम्म ति सवै कुराहरुलाई मध्यनजर राख्दै आर्थिक तथा समयको बरवाद गरेर भ्रष्टाचार गर्न दिएका छैनौं ।
तपाईले रोशीको जिम्मेवारी सम्हाल्दै गर्दा लिएको लक्ष्य पुरा गर्ने बिषयमा के कस्तो सोच अगाडी बढाउनु भएको छ ?
हाम्रो टिम निर्वाचित भएर अगाडी बढेको यो अन्तिम बर्ष हो । अन्तिम बर्षमा पनि हामिले आगामी बर्षमा रोशीको जिम्मेवारी सम्हाल्न आउने जनप्रतिनिको लागि सहज वनाएका छौं । हामीले आगामी दिनको लागि मार्ग निर्देश गर्न सकिरहेका छौं या छैनौ,कुन बिषयमा के—कस्ता कार्य गर्न उचित थियो ? सो पनि स्प्रस्ट नभएकै कुरा हो । म अरुले जस्तो म आफु महान हुँ, मैले सवै कुरो जानेको छु भन्न चाहन्न । मेरो आफ्नो शिकाईको क्रममा कुनै बस्तिमा बाटो थिएन,कुनैमा पानीको अभाव, कुनै बस्ति विजुलि नभएर अन्धकार अवस्थामा थियो । ति समस्याहरु समाधान गरे भन्दैमा म गर्व गर्दिन किनभने मानव वस्ति विकास भइसकेपछि ति समस्याहरु भनेको आधारभुत आवश्यकता हो । रोशीका जनता र हाम्रो चाहना भनेको जनता र जनप्रतिनिधिले अल्छिपन नगर्नु हो ।
हाम्रो प्रमुख चाहना भनेको रोशीका प्रत्यक जनताको घरमा रु ५० हजार कम्तिमा पनि आम्दानी रहोस भन्ने थियो । आउने रोशीका जनप्रतिनिधिलाई कुन बाटो देखाएर राख्ने ? कतै हामी चुकेका हौं कि ? यसको बारेमा हामी रोशीका जनप्रतिनिधिहरु (परिवार) बसेर गहन ढंगबाट छलफल गर्ने छौं । यो यो गर्न नपाएको भनेर बुंदागत रुपमा भन्नुभन्दा पनि के चाही गर्न आवश्यक थियो भनेर छलफल गर्ने क्रममा छौं ।
रोशीको जनताको घरमा घरमा मासिक ५० हजार आम्दानि गराउने लक्ष्य छ भन्नु हुन्थ्यो त्यो तपाइको लक्ष्य पुरा भयो ?
रोशी गाउंपालिकाको भूगोलको हिषावले कृषिनै सवैभन्दा ठुलो आम्दानिको स्रोत हो । रोशीको दृष्टि पहिरण र कृषि भन्ने मुल नाराका साथमा हामी अगाडी बढेउ । जनताबाट आएको सुझाव साथै विज्ञहरुको सल्लाह अनुसार धेरै कार्यहरु गर्न सफल भएको सर्वविदितै छ । कृषकको माग र जनताको आवश्यकतालाई मध्यनजर राख्दै हामीले वितरण गरेउ । जनताको माग अनुसारको वितरण गर्दा जनताको आयस्तर बढ्यो या बढेन हाम्रो लक्ष्य पुर्ण भयो या के कति बाँकी छ ? भन्ने बिषयमा सर्वेक्षण भईरहेको छ । उत्पादन मात्रै ठुलोकुरा होईन बजार व्यवस्थापन गर्नुपनि महत्वपुर्ण बिषय हो । हामीले कृषकको लागि ट्याक्टर, फलफुलको विरुवा, उन्नतजातको बिउविजनहरु लगायतका सामाग्री वितरण गरेका छौं , सो कार्यबाट के—कति लाभ भयो भनेर अनुगमन गर्दै छौं ।
कोभिडले दुःख दिएको दुई बर्ष भयो, अघिल्लो बर्षको कोभिडमा विकास निर्माणको कार्यलाई नरोकि निरन्तर दिनुभयो, यो बर्ष कोभिडले गर्दा बिकास निर्माणमा के—कति समस्या पार्यो ?
कोभिडले समस्या पार्दा पनि केन्द्रिय सरकार, प्रदेस सरकारको निर्देशन अनुसार बिकास निर्माणका कार्यहरुलाई नरोकि स्वास्थ्य मापदण्डलाई पालना गर्दै अगाडी बढेउ । गतसाल रोशी गाउंपालिका परिवारले जे जस्ता योजनाहरु बनाएका थियौं ति सवै कार्यहरु सम्पन्न गरेका छौं ।
रोशी पालीकामा निर्वाचित जनप्रतिनिहरु विचको सम्बन्ध कस्तो छ ?
हाम्रो रोशीका जनप्रतिनिधिहरुको सम्बन्ध निश्चय रुपमा कुनैपनि बिवाद साथै फरक व्यहार छैन । सवै प्रतिनिधिहरुको एउटै सोच भनेको रोशीको विकास हो । सामाजिक रुपमा जनताको हितको लागि हामी एक छौं । जसले जनताको समस्या बुझ्छ, सामाजिक भाव बुझ्छ, उहाँहरुसंग हाम्रो एक हुन्छ । जस्ले जनताको समस्या नबुझ्ने साथै सामाजिक भाव बुझ्दैन र म ठुलो मान्छे हुँ, म कसैको प्रतिस्पर्धी हुँ, भन्ने खालको समस्या भयो भने सामान्य समस्या हुनु स्वभाबिकै हो । तर खासै रोशी गाउंपालिकामा त्यस्तो हदैको समस्या यहाँ देखिदैन । सानोतिनो केही समस्या भएमा हामी एकै ठाउंमा बसेर माझ्ने गरेका छौं । वास्तवमै भन्ने हो भने रोशीमा जस्तो (जनप्रतिनिधिको विचमा) सौहार्द पुर्ण व्यवहार अन्त छैन जस्तो लाग्छ ।
कार्यकाल सकिनै लागेको छ, आगामी निर्वाचनमा काहाँ कुन तहमा उम्मेदवारी दिने सोचमा हुनुहुनछ ?
अलि जटिल बिषयको उठान गर्नुभयो तरपनि ठिकै छ , मेरो सवाल के रह्यो भन्दाखेरी हामी एउटा राजनीति कर्मी हो । जस्ले गर्दा यो जिवन समय सवै सामाजिक हुनुपर्छ भन्ने मेरो मान्यता हो । समाजका लागि यो मान्छे हाम्रोलागि अपरिहार्य छ, यो हामीलाई चाहिन्छ, भन्ने खालको कुराहरु जनताहरुबाट आयो भने पार्टीले पत्याएमा मेरो लागि जनता भन्दा ठुलो कोही नभएकोले उहाँहरुको भावनालाई ठेस पुर्याउदिन । तर म आफैले चाही मलाई यो पद चाहिन्छ, म यसको लागि योग्य छु भन्दीन । तर जनताले यो मान्छे यो स्थानमा योग्य छ भनेर स्थान दिएमा म निशर्त एकदमै रोशीको लागि अहिले जसरी गरे त्यसैगरी सेवा गर्ने बिषयमा पछि हट्दीन । जानेर—नजानेर राजनीतिमा पाईला सारे अवका दिनमा पनि यो जिवन जनताको लागि सधै हुन्छ र हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले रोशीका जनताले मलाई रोशीकै सेवा गर्नुपर्छ भन्नुभयो भने मैले रोशीका जनताको भावनालाई नकार्न नसक्ने भएकोले पार्टीले पत्याएमा पुन रोशीमा मेरो उम्मेदवारी हुन्छ ।
अन्तमा कोभिडको महामारी साथै पालिकाको विकास निर्माणको बिषयलाई लिएर पालिका वासिलाई केही भन्न चाहनु हुन्छ की ?
पहिलोत तपाईलाई धन्यवाद दिन चाहन्छु । मेरो चार बर्ष कार्यकालको अन्तिम समयमा आफ्ना भनाई राख्ने अवसर दिनु भएकोमा आभारी छु । पछिल्लो समयको कुराहरु गर्नुपर्दा कोरोना संक्रमणको बारेमा धेरै चर्चा गरेउ । म पालिका वासिलाई अनुरोध के गर्न चाहन्छु भने—हाम्रो कार्यकाल अन्तिम भयो, कृपा गरेर रोशी वासिले हामिले गरेको कार्य सम्पादनको सहि मुल्यांकन गरिदिनोस । काम गर्न जाने वा जानीन म इमानदारीका साथमा अगाडी बढेको छु भन्ने दावि गर्छु । कहि कतै आर्थिक लेनदेनमा मुछियो वा केही अनैतिक कार्यमा मुछियोकि भन्ने सत्यतथ्य खोज्दै अनुसन्धान गर्ने जिम्मा पालिकावासि साथै मिडियाको हो । रोशी गाउंपालिकाले गरिएको उत्कृष्ट कार्य मध्य गर्भका साथ भन्नु पर्दा हामी यो संन्सारमा आउने भनेको भगवान रुपि आमा बुवा हो ।
म आफु पनि आमा र बुवाको भक्ति गर्ने छोरा हुँ, त्यसैले पनि हामीले रोशी गाउंपालिकामा अन्य सामाजिक विकास, आर्थिक विकास, एउटा उत्कृष्ट कार्य गरेका छौं । पालिकाले आफ्नो बुवा आमालाई राम्रोसंग हेरचाह गर्ने छोराछोरीलाई बर्षमा एक पटक श्रवणकुमार पुरस्कारबाट नगद सहित सम्मान गर्छौं । बुवा आमालाई संरक्षण नगर्ने छोराछोरीको पालिकाले निगरानी गर्छौं । यो हाम्रो निति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेका छौं ।
आफ्नो ठाउको जनप्रतिनिधि कस्तो चुन्ने ? पार्टीको भन्दा पनि पालिकावासिको हितको खातिर राम्रो काम गर्ने निश्पक्ष राम्रो मानिस चुन्नोस । म पनि उत्कृष्ट भनेर दावि त गरौला तर हो की होइन भनेर मुल्यांकन गर्न जरुरी छ । जिवित देवताको संरक्षण गर्न पालिका वासिलाई म पुन अनुरोध गर्छु । जसको कारणले गर्दा रोशीको सिको अन्य पालिकाहरुले पनि गरेमा बृद्धआश्रममा हामीले बुवा आमाहरु छटपटाई रहेको देख्नु नपर्ला । त्यो चाउरी परेको आँखाबाट बगेको आँसुको अन्त्य गर्दै हसिलो मुहारका साथमा बुवाआमाले आफ्नो जिवनलाई अगाडी बढाउनुनै हाम्रो खुसि हो ।


प्रतिक्रिया दिनुहोस