२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

हिमाली जिल्लामा मंसिरमै कांग्रेस अधिवेशन, अन्य जिल्लामा पुस ४–५


५९५ पाठक संख्या
  • २०८३ मंसिर १३, आईतबार मा प्रकाशित ३८ मिनेट अघि
  • काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका टुङ्ग्याउने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

    मौसमको प्रतिकूलता र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन मंसिरमै सम्पन्न गर्ने योजना बनाइएको सभापति थापाले बताउनुभयो। अन्य जिल्लामा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन सञ्चालन गर्ने तयारी छ। यद्यपि, विशेष परिस्थिति वा स्थानीय बाध्यता उत्पन्न भएमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा निर्वाचन समितिले मितिमा सामान्य हेरफेर गर्न सक्ने व्यवस्था गरिएको छ।

    यसैगरी, कांग्रेसले आगामी पुस १२ देखि १८ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको अन्तरमा सञ्चालन गरिने सभापति थापाले स्पष्ट पार्नुभएको छ। सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारी सहभागी भई सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले फरक–फरक मिति तय गर्न लागिएको उहाँको भनाइ छ।

    जिल्ला तथा प्रदेश अधिवेशनका मितिहरूको अन्तिम टुङ्गो भने निर्वाचन समितिले सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलिसम्म घोषणा गर्ने सभापति थापाले जानकारी दिनुभएको छ।

    पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। यसक्रममा देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन भइरहेको छ भने जिल्ला तथा प्रदेश अधिवेशनमार्फत पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रयास भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑