काभ्रेपलाञ्चोक, वैशाख २५ ।“पाँचखाल नगर, कृषि शहर” भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित पाँचखाल नगरपालिकामा सुरु भएको दुई दिने कृषि मेला–२०८३ ले स्थानीय कृषि उत्पादन, सुरक्षित खाद्य प्रणाली र आधुनिक खेती प्रविधिप्रति नयाँ आशा जगाएको छ । पाँचखाल नगरपालिका र प्यारो हरियो नेपालको संयुक्त आयोजनामा तल्लो तामाघाट चोकस्थित कृषि उपज संकलन केन्द्र परिसरमा सञ्चालन भइरहेको मेलामा स्थानीय कृषकको उल्लेखनीय सहभागिता देखिएको छ ।
मेलाको उद्घाटन समारोहको सभाध्यक्षता लवग्रीन नेपालका महासचिव राजिव रत्न शाक्यले गर्नुभएको थियो भने पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष संजय तामाङले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र कृषि मेलाको महत्त्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन लवग्रीन नेपालकी कर्मचारी सुमित्रा श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महेश खरेलले पाँचखालमा पछिल्लो समय उत्पादन भएका ताजा तरकारीहरू ‘सेमी अर्गानिक’ रूपमा प्रमाणित भइसकेको बताउनुभयो । उहाँका अनुसार नगरका एक हजार दुई सयभन्दा बढी कृषकलाई ‘आई.पि.एम.’ (एकीकृत शत्रुजीव व्यवस्थापन) सम्बन्धी तालिम प्रदान गरिएको छ, जसको सकारात्मक प्रभाव अहिले बजारमा स्पष्ट देखिन थालेको छ ।
“पाँचखालमा उत्पादन भएका ताजा तरकारी काठमाडौंलगायत प्रमुख व्यापारिक केन्द्रमा हारालुछ हुने अवस्था सिर्जना भएको छ,” नगर प्रमुख खरेलले भन्नुभयो, “लवग्रीन नेपाल, लवग्रीन जापान, जाइका र पाँचखाल नगरपालिकाको साझेदारीमा आई.पि.एम. प्रविधिबाट खेती विस्तार भएपछि स्वच्छ, सुरक्षित र गुणस्तरीय तरकारी उत्पादन सम्भव भएको हो ।”
उहाँले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरिएको खेतीभन्दा जैविक मल तथा जैविक विषादी प्रयोग गरिएको खेतीमा उत्पादनसमेत राम्रो देखिएको उल्लेख गर्दै कृषकलाई सुरक्षित खेती प्रणालीतर्फ आकर्षित गर्न नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो । साथै स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराउने उद्देश्यले मासिक रूपमा हाटबजार सञ्चालन गर्ने विषयमा नगरपालिकाले विशेष चासो दिएको जानकारी दिनुभयो ।
कार्यक्रममा अतिथिका रूपमा बोल्दै राष्ट्रिय कृषि कम्पनी नेपालका अध्यक्ष विशाल हुमागाईले स्थानीय सरकारले गुणस्तरीय उत्पादनको प्रमाणिकरण गरे त्यस्ता तरकारी बजार मूल्यभन्दा डेढ गुणासम्म बढी मूल्यमा खरिद गर्न सकिने बताउनुभयो ।
“नयाँ प्रविधि भित्र्याउनु मात्रै ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा सफल रूपमा सञ्चालन गर्नु अझ महत्त्वपूर्ण विषय हो,” उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेको ताजा तरकारीले अझै व्यवस्थित बजार पाउन सकेको छैन । स्थानीय सरकार र सरोकारवाला निकायले बजार सुनिश्चित गरिदिए मात्रै कृषकको वास्तविक हित हुन्छ ।”
त्यस्तै, पाँचखाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा कृषि समिति संयोजक सुन्दर तामाङले नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरे महिनामा एक–दुई वटा कृषि मेला नियमित रूपमा आयोजना गर्न सकिने बताउनुभयो । उहाँले यस्ता मेलाले स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै पाँचखालको कृषि पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अगुवा कृषक सज्जन गिरीले ‘आई.पि.एम.’ प्रविधिबाट गरिएको खेती र परम्परागत खेतीबीचको अनुभव सुनाउँदै कम लागतमा बढी उत्पादन प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार यस प्रविधिबाट गरिएको खेतीले कृषक तथा उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।
मेलामा स्थानीय स्तरमा उत्पादन गरिएका तरकारी, आलु, फलफूल, जैविक उत्पादन तथा आई.पि.एम. प्रविधिबाट उत्पादन गरिएका कृषि उपजको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषक र कृषक समूहबीच प्रत्यक्ष संवाद, प्रतिस्पर्धात्मक कृषि प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान तथा कृषि प्रविधिसम्बन्धी जानकारीमूलक स्टलहरू मेलाका प्रमुख आकर्षण बनेका छन् ।
आयोजकका अनुसार मेला वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलाले पाँचखाललाई सुरक्षित कृषि उत्पादन, आधुनिक खेती प्रणाली र कृषि बजार व्यवस्थापनको नमुना नगरका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस