२०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

धार्मिक आस्थामाथि आँच पुग्ने प्रचार नगर्न आयोजकको चेतावनी


८१३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ बैशाख २६, शनिबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती मन्दिर परिसरमा आयोजित यस वर्षको चण्डी पूर्णिमा जात्रा तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    धार्मिक आस्था, स्थानीय संस्कृति र सामुदायिक एकताको प्रतीकका रूपमा परिचित उक्त जात्रा अन्तर्गत विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘चण्डी पूर्णिमा बृहत् सांस्कृतिक कार्यक्रम’ यस वर्ष पनि वैशाख १८ र १९ गते उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

    कालिका युवा क्लब, एकता युवा क्लब, श्री पलाञ्चोक गैह्रीगाउँ युवा क्लब, एकीकृत पहरी युवा क्लब तथा धन्द्रेखोला नेवास् समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ सेलो, नेवा सांस्कृतिक गीत, लोकदोहोरी प्रस्तुति, स्थानीय विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक नृत्य तथा विभिन्न जातीय समुदायका मौलिक कला–संस्कृतिको प्रदर्शन गरिएको थियो ।

    आयोजक समितिका अनुसार कार्यक्रमको मुख्य उद्देश्य धार्मिक पर्वसँगै स्थानीय भाषा, कला, संस्कार र भेषभूषाको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको जनाइएको छ ।

    यसैबीच, कार्यक्रम सम्पन्न भएपछि सामाजिक सञ्जालमा फैलाइएका केही सामग्रीप्रति आयोजक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका अनुसार कार्यक्रमका क्रममा कुनै कलाकारले व्यक्तिगत रूपमा प्रस्तुत गरेको नृत्य वा प्रस्तुतीलाई लिएर सम्पूर्ण जात्रा र धार्मिक परम्परामाथि नै प्रश्न उठाउने गरी गरिएको प्रचारले स्थानीय समुदायको भावनामाथि चोट पुगेको छ ।

    आयोजक समितिका अध्यक्ष प्रकाश चन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कलाकारको व्यक्तिगत प्रस्तुतिलाई अतिरञ्जित ढङ्गले प्रचार गरी अतिथिहरूको नामसमेत जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयास भएको उल्लेख गरिएको छ । “कलाकारको प्रस्तुतिसँग अतिथिहरूको नाम जोडेर अनावश्यक टिकाटिप्पणी गर्ने तथा जात्राको गरिमामाथि आँच आउने गरी प्रचार नगर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

    समितिले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको सम्मान गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कार्यक्रम सञ्चालनका क्रममा भएका केही पक्षबारे आन्तरिक समीक्षा गरिएको जनाएको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ मर्यादित, व्यवस्थित र संवेदनशील बनाउँदै लैजाने प्रतिबद्धता समेत आयोजकले व्यक्त गरेको छ ।

    आयोजकका अनुसार चण्डी पूर्णिमा जात्राको मुख्य धार्मिक कार्यक्रम अन्तर्गत देवीको विशेष पूजा, रथयात्रा तथा परम्परागत विधिविधान सम्पन्न भएपछि मात्रै शुद्ध मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुतिलाई फरक रूपमा बुझ्न आग्रह गर्दै आयोजकले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सम्पूर्ण कार्यक्रमलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्नु दुःखद भएको जनाएको छ ।

    स्थानीयवासीहरूले पनि पलाञ्चोक भगवती क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील स्थान भएकाले सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रचार गर्दा जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनीहरूले केही व्यक्तिगत प्रस्तुतीका आधारमा सम्पूर्ण समुदाय, आयोजक संस्था वा धार्मिक परम्परालाई विवादमा तान्ने कार्य उचित नभएको धारणा राखेका छन् ।

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीयवासी, सुरक्षाकर्मी, स्वयंसेवक, कलाकार, विभिन्न संघसंस्था तथा दर्शकप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै आगामी वर्षहरूमा पनि जात्रालाई अझ सभ्य, सांस्कृतिक र ऐतिहासिक गरिमाअनुकूल रूपमा सञ्चालन गरिने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार