५ जेठ, काभ्रेपलाञ्चोक । नेपाली काग्रेसले आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘प्रदेश र स्थानीय तह केन्द्रित भेला’ ३३ बुँदे ‘बागमती संकल्प’ जारी गर्दै सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सोमबारदेखि सुरु भएको दुई दिने भेला मंगलबार लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, संघीयताको सुदृढीकरण तथा संगठन विस्तारका विविध प्रतिबद्धतासहित सम्पन्न भएको हो ।
भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, मौलिक हक तथा लोकतान्त्रिक अधिकारको संरक्षणलाई केन्द्रमा राख्दै नागरिकमुखी शासन प्रणालीमार्फत उत्तरदायी र जवाफदेही सरकार निर्माणमा थप प्रभावकारी ढंगले अघि बढ्ने संकल्प गरेको छ । भेलाको पहिलो बुँदामै लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता जनाइएको छ ।
भेलाले सुशासन, विधिको शासन र जवाफदेहितालाई एक–अर्काका परिपूरकका रूपमा आत्मसात गर्दै विधिसम्मत ढंगले मात्र निर्णय प्रक्रिया अघि बढाउने स्पष्ट अडान लिएको छ । साथै पछिल्ला दिनमा संघीय सरकारबाट भइरहेका भनिएका अलोकतान्त्रिक, असंवैधानिक तथा अमर्यादित गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संविधानको मर्म, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान तथा मानवीय संवेदनालाई केन्द्रमा राखेर शासन सञ्चालन गर्न संघीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
भेलामा सहभागी नेताहरूले लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमै कार्यान्वयन गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले लोकतन्त्रको रक्षा केवल राजनीतिक नाराबाट सम्भव नहुने उल्लेख गर्दै व्यवहारमा सुशासन र जनसेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
भेलाले कांग्रेस नेतृत्वका बागमती प्रदेश सरकार तथा स्थानीय तहहरूले सञ्चालन गरेका असल अभ्यास, नवीन योजना र सिर्जनात्मक अभियानहरूलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गरी जनस्तरसम्म पुर्याउने निष्कर्ष निकालेको छ । एक स्थानीय तहले हासिल गरेका सफल अभ्यासहरू अन्य स्थानीय तहमा समेत विस्तार गर्ने नीति अवलम्बन गरिने जनाइएको छ ।
स्थानीय सरकारलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन अनुभव आदान–प्रदान तथा आपसी सहकार्यलाई प्राथमिकता दिने निर्णयसमेत भेलाले गरेको छ । संघीयता कार्यान्वयनको प्रभावकारिता स्थानीय तहको कार्यसम्पादनसँग प्रत्यक्ष जोडिएको निष्कर्ष निकाल्दै स्थानीय सरकारलाई विकास र सेवा प्रवाहको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।
भेलाको ३२औँ बुँदामा संघीयता र संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अवधारणालाई आत्मसात गर्दै समुन्नतिको यात्रामा अघि बढ्न संघीय सरकारलाई अपिल गरिएको छ । साथै उक्त अभियानमा पार्टी पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संगठन सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै भेलाले ‘जरा अभियान’ अन्तर्गत सञ्चालन भइरहेको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई सक्रिय हुन निर्देशन दिएको छ । डिजिटल अभिलेख प्रणालीमार्फत सदस्यहरूको योगदानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा आम कार्यकर्तालाई प्रत्यक्ष रूपमा पार्टी अभियानसँग जोड्ने रणनीति अवलम्बन गरिने जनाइएको छ ।
भेलाले पार्टी संगठनलाई प्रविधिमैत्री, व्यवस्थित र चलायमान बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापनलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै गाउँदेखि प्रदेश तहसम्म पार्टी संरचनालाई थप सक्रिय र जनउत्तरदायी बनाउन विशेष अभियान सञ्चालन गरिने जनाइएको छ ।
दुई दिने भेलामा बागमती प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पार्टीका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेलामा सहभागी नेताहरूले आगामी निर्वाचन, संगठन विस्तार, जनसम्पर्क अभियान तथा विकास–निर्माणका विषयमा समेत धारणा राखेका थिए ।
यसैबीच नेपाली काग्रेसले अन्य प्रदेशमा पनि यस्तै प्रदेशस्तरीय भेला सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका अनुसार ६ र ७ जेठमा बर्दिवासमा मधेश प्रदेशस्तरीय, ८ र ९ जेठमा लौकाहीमा कोशी प्रदेशस्तरीय तथा १४ र १५ जेठमा तिलोतमामा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरिनेछ ।
कांग्रेसले सुदूरपश्चिमको धनगडी बाट सुरु गरेको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ यसअघि गण्डकी र कर्णाली प्रदेशमा समेत सम्पन्न गरिसकेको जनाएको छ । पार्टीले प्रदेश तथा स्थानीय तहबीच समन्वय बढाउँदै संगठनलाई जनस्तरसम्म सशक्त बनाउने उद्देश्यले देशव्यापी रूपमा यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस