७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिले अनुदानस्वरूप निर्माण गरिदिने प्रस्ताव गरेको केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ दम्पत्तिको भवन निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्दै अब आफ्नै स्वामित्वको जग्गा मदननगर, बल्खुमै नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय अघि बढाइएको हो।
एमाले सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा “कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने” उल्लेख गरिएको छ। यससँगै पार्टीले आफ्नै स्रोत र दीर्घकालीन योजनाअनुसार केन्द्रीय कार्यालय निर्माणलाई प्राथमिकतामा राखेको स्पष्ट भएको छ।
यसअघि गुरुङ दम्पत्तिले एमालेका लागि कलंकी क्षेत्रमा आधुनिक भवन निर्माण गरिदिने घोषणा गरेका थिए। सो भवनको शिलान्यास २०८१ साल असोजमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पत्तिले संयुक्त रूपमा गरेका थिए। तर शिलान्यासपछि भवन निर्माणको कामले गति लिन सकेको थिएन।
एमालेले अब पार्टीको ऐतिहासिक राजनीतिक केन्द्रका रूपमा परिचित बल्खु क्षेत्रमै व्यवस्थित र आधुनिक केन्द्रीय कार्यालय निर्माण गर्ने रणनीति अघि सारेको छ। मदन–आश्रित दिवसको अवसरमा पार्टी महासचिव शंकर पोखरेल ले पनि बल्खुमै नयाँ केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरिसकेका थिए।
पार्टीभित्र आत्मनिर्भर संरचना निर्माण, संस्थागत स्थायित्व र दीर्घकालीन राजनीतिक व्यवस्थापनलाई बलियो बनाउने उद्देश्यसहित एमालेले आफ्नै लगानीमा केन्द्रीय कार्यालय निर्माण प्रक्रिया अघि बढाएको राजनीतिक वृत्तमा चर्चा छ। दाताबाट प्राप्त हुने प्रस्तावलाई सम्मानपूर्वक फिर्ता गर्दै आफ्नै संरचना निर्माणमा केन्द्रित हुने निर्णयलाई एमालेको संस्थागत रणनीतिको रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस