काभ्रेपलाञ्चोक । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको संयोजकत्वमा शुक्रबार पाँचखाल क्षेत्रमा सञ्चालनमा रहेका बीउ तथा विषादी बिक्री–वितरण गर्ने एग्रोभेट तथा कृषि सामग्री पसलहरूको संयुक्त बजार अनुगमन गरिएको छ। कृषकलाई गुणस्तरीय बीउबिजन तथा सुरक्षित विषादी उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनमा सम्बन्धित निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बजार अनुगमनको क्रममा कृषि प्रचार अधिकृत विवेकानन्द महत, बाली संरक्षण अधिकृत रमा कार्की, पाँचखाल नगरपालिका कृषि शाखा प्रमुख हेमन्त पौडेल, कृषि अधिकृत सुगम भेटवाल, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहलेखापाल विवश खत्री, उद्योग तथा वाणिज्य कार्यालयका सहायक पाँचौँ जिना सेन्दाङ लिम्बु, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली तथा पाँचखाल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नवीन प्रकाश निरौलासमेतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले पाँचखाल नगरपालिका–४ मा सञ्चालनमा रहेका विभिन्न कृषि सामग्री पसलहरूको निरीक्षण गरेको थियो। सरोज सापकोटाले सञ्चालन गरेको ‘पाँचखाल बीउ भण्डार’, शिव अधिकारीद्वारा सञ्चालित ‘जुगल एग्रोभेट’, लक्ष्मी घिमिरे दाहालद्वारा सञ्चालित ‘सेजन एग्रो कन्सर्न’ तथा मुना दनुवारद्वारा सञ्चालन गरिएको ‘कृष्ण बीउ एण्ड नर्सरी सेन्टर’ लगायतका पसलमा अनुगमन गरिएको थियो
अनुगमनका क्रममा अधिकांश पसलहरूमा बिक्री–वितरण प्रक्रिया, विषादी भण्डारण, अभिलेख व्यवस्थापन तथा सुरक्षासम्बन्धी मापदण्डको अवस्थाबारे निरीक्षण गरिएको थियो। तीमध्ये ‘पाँचखाल बीउ भण्डार’ ले विषादी बिक्री–वितरणका लागि निर्धारण गरिएको मापदण्ड पूर्ण रूपमा पालना गरेको पाइएको अनुगमन टोलीले जनाएको छ।
त्यसैगरी केही पसलहरूमा आवश्यक मापदण्ड अपुग रहेको भेटिएपछि अनुगमन टोलीले लिखित सुझाव प्रदान गरेको छ। तोकिएको मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नगरेमा जीव नाशक विषादी विक्रेता ऐन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको अनुगमन टोलिले जानकारी गराएको छ ।
अनुगमनका क्रममा पाँचखाल क्षेत्रमा रासायनिक विषादीको प्रयोग क्रमशः घट्दै गएको संकेतसमेत देखिएको छ। केही पसलहरूमा जैविक विषादीको बिक्री उल्लेख्य रूपमा बढेको पाइएको हो। विशेषगरी ‘सेजन एग्रो कन्सर्न’ मा रासायनिक विषादीभन्दा जैविक विषादी बढी मात्रामा बिक्री–वितरण भइरहेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ।
बजार अनुगमनपछि स्थानीय कृषकहरूले खुसी व्यक्त गरेका छन्। नियमित अनुगमनले गुणस्तरीय बीउबिजन तथा विषादी सुपथ मूल्यमा प्राप्त हुने विश्वास बढेको कृषकहरूको भनाइ छ। साथै राज्यले प्रतिबन्ध लगाएका विषादीको बिक्री नियन्त्रण हुनुका साथै स्थानीय भूगोल र हावापानी सुहाउँदो बीउबिजन सिफारिसका आधारमा उपलब्ध गराउन यस्ता अनुगमन प्रभावकारी हुने कृषकहरूको अपेक्षा रहेको छ।
कृषि विकास कार्यालयले आगामी दिनमा पनि जिल्लाभरका कृषि सामग्री पसलहरूमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस