२०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

मिडियामाथिको आर्थिक नियन्त्रणविरुद्ध सशक्त आन्दोलनको चेतावनी : निर्मला शर्मा


४१६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक, १० जेठ ।नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चार क्षेत्रमाथि लगाएको अंकुश, आर्थिक नियन्त्रण र विज्ञापन नीतिमा गरिएको एकाधिकारका विरुद्ध पत्रकार महासंघ देशैभर सशक्त प्रतिवादमा उत्रिन तयार रहेको बताउनुभएको छ । महासंघ काभ्रे शाखाको साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

    उहाँले सरकारले विज्ञापन र सूचनामा केन्द्रिकृत नियन्त्रण गर्दै सरकारी सञ्चार माध्यमलाई मात्र प्राथमिकता दिने गरी जारी गरिएको परिपत्र असंवैधानिक र विभेदकारी भएको दाबी गर्नुभयो । “संविधानले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई दिएको अधिकार केन्द्र सरकारले खोस्न मिल्दैन,” उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशले स्थानीय सञ्चारमाध्यमलाई दिने विज्ञापन रोक्नु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो ।”

    सचिव शर्माले महासंघ अहिले इतिहासकै कठिन मोडमा पुगेको उल्लेख गर्दै जेठ ७ गतेदेखि देशभर सुरु गरिएको हस्ताक्षर अभियान एक सातासम्म निरन्तर चल्ने जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले प्रधानमन्त्री, सञ्चारमन्त्री र सभामुखलाई ध्यानाकर्षण गराइसकेको भए पनि समस्या समाधान नभए थप सशक्त आन्दोलनमा जाने तयारीमा रहेको छ ।

    उहाँले रोकिएको लोककल्याणकारी विज्ञापनको रकम फुकुवा भए पनि आगामी बजेटमा यसको निरन्तरताप्रति अझै आशंका कायम रहेको बताउँदै निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, प्रेस काउन्सिल नेपाल नेतृत्वविहीन अवस्थामा रहेको र राज्यले पत्रकारहरूलाई दबाबमा पार्ने तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

    सचिव शर्माले पछिल्लो समय २०६२/६३ को जनआन्दोलन अघिको भन्दा पनि कठोर रूपमा मिडियामाथि दबाब बढेको दाबी गर्दै अब महासंघले केवल ज्ञापनपत्र र वार्तामात्र नभई साधारण सभा लगत्तै निर्णायक सडक आन्दोलनमा जाने तयारी गरेको उद्घोष गर्नुभयो ।

    उहाँले श्रमजीवी पत्रकारहरू बेरोजगार हुने र सञ्चारमाध्यम बन्द हुने अवस्था बढ्दै गएको उल्लेख गर्दै दलगत घेराभन्दा माथि उठेर लोकतन्त्र र संविधान रक्षाका लागि सबै पत्रकार एक हुन आह्वान गर्नुभयो ।

    सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावबारे बोल्दै सचिव शर्माले भ्रमपूर्ण सूचना (misinformation/disinformation) का कारण मूलधारका मिडियाको विश्वसनीयता संकटमा परेको बताउनुभयो । सामाजिक सञ्जाल र पत्रकारिताको सामग्री एउटै जस्तो देखिन थालेपछि पत्रकारिताको मूल मूल्य नै कमजोर हुने खतरा बढेको उहाँको भनाइ थियो ।

    उहाँले नयाँ प्रविधि र डिजिटल पत्रकारिताको चुनौती सामना गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम र स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । साथै, कन्टेन्ट क्रिएटरहरूलाई पनि जिम्मेवार बनाउन राज्यले ठोस नीति ल्याउनुपर्ने र उनीहरूलाई समेत पेशागत दायराभित्र ल्याउन महासंघ तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा विशेष अतिथि कृष्ण सारु मगर ले पनि पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता संरक्षण र संस्थागत सुदृढीकरणका विषयमा केन्द्रसँग मिल्दोजुल्दो धारणा राख्दै पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउन सबै सञ्चारकर्मीबीच एकता आवश्यक रहेको बताउनुभएको थियो ।

    पत्रकार महासंघ काभ्रेको अध्यक्ष विनोद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शाखा सचिव नगेन्द्र अधिकारीले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष कपिल कोइरालाले राख्नुभएको थियो ।

    कार्यक्रममा पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, इस्वरी ओझा, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना तथा बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी फोनिज काभ्रे अध्यक्ष इन्द्र वहादुर थापा , प्रेस युनियन काभ्रे सचिव शुभराज अधिकारी , प्रेस सेन्टर काभ्रे अध्यक्ष राम प्रसाद ढकाल , प्रेस चौतारी काभ्रे अध्यक्ष केदार तिमल्सिना र सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र पेशागत एकताका विषयमा समान धारणा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा “भरतराज पत्रकारिता पुरस्कार” बाट अग्रज पत्रकार मधुसुदन गुरागाईं लाई नगदसहित सम्मान गरिएको थियो । उहाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मानित गरिएको आयोजकले जनाएको छ ।कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष केशवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाृ थियो । प्रस्तुत प्रतिवेदन सर्वसंमत ढंगबाट अत्यनत सौहार्द ढंगबाट पारित भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार