काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला वर्षहरूमा बैंकिङ (चेक बाउन्स) तथा ठगीसम्बन्धी आर्थिक अपराध तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक कारोबारमा असावधानी, अविश्वसनीय लेनदेन र सहकारी क्षेत्रको कमजोर व्यवस्थापनका कारण जिल्लामा यस्ता मुद्दा वर्षेनि बढ्दो क्रममा रहेको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै बैंकिङ कसुर तथा ठगीसम्बन्धी १७६ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा २२ करोड ६७ लाख ३३ हजार ४३ रुपैयाँ बराबरको दाबी प्रस्तुत गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार दर्ता भएका मुद्दामध्ये १२५ वटा फर्छ्योट भइसकेका छन् भने ५१ वटा मुद्दा अझै अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेका छन् ।
उनका अनुसार आर्थिक अपराधका घटनामा पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भइरहेको छ । “चेक बाउन्स, ठगी तथा वित्तीय कारोबारसम्बन्धी विवादहरू बढिरहेका छन् । कारोबार गर्दा आवश्यक कानुनी सतर्कता नअपनाउँदा सर्वसाधारण पीडित बन्ने अवस्था बढेको छ,” प्रहरीको भनाइ छ ।
प्रहरी तथ्यांकअनुसार चालु आवमा साउन महिनामा २८, भदौमा २९, असोजमा २०, कात्तिकमा २४, मंसिरमा ८, पुसमा १२, माघमा ७, फागुनमा ५, चैतमा ९, वैशाखमा २५ तथा जेठ ७ गतेसम्म ९ वटा मुद्दा दर्ता भएका छन् ।
विशेषगरी साउन, भदौ र वैशाख महिनामा सबैभन्दा बढी मुद्दा दर्ता भएको देखिएको छ । प्रहरीका अनुसार व्यापारिक कारोबार, निर्माण व्यवसाय, सहकारी तथा व्यक्तिगत लेनदेनमा विश्वासका आधारमा दिइने चेक साटासाटका कारण विवाद बढ्दै गएको छ ।
चालु आर्थिक वर्षमा बैंकिङ तथा ठगी कसुरमा ३७ पुरुष र ७ महिला गरी ४४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, अझै १३२ जना फरार रहेको तथ्यांकले आर्थिक अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखाएको छ ।
प्रहरीले फरार आरोपीहरूको खोजी तीव्र बनाइएको जनाएको छ । कतिपय आरोपी जिल्लाबाहिर तथा विदेशमा रहेको आशंकासमेत गरिएको छ ।
प्रहरी तथ्यांकले आर्थिक अपराधको दर निरन्तर बढिरहेको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३८ वटा तथा २०८१/८२ मा १६५ वटा बैंकिङ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भएका थिए । चालु आवमा भने १० महिनामै १७६ मुद्दा पुगिसकेकाले वर्षान्तसम्म यो संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
यसले जिल्लामा वित्तीय अनुशासन कमजोर बन्दै गएको र आर्थिक कारोबारमा विश्वासको संकट गहिरिँदै गएको संकेत गरेको सरोकारवालाहरू बताउँछन् ।
यसैबीच, बनेपास्थित विभिन्न सात सहकारी संस्था तथा तिनका सञ्चालकविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म ६४ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिनासम्बन्धी सात वटा उजुरी परेको छ । बचतकर्ताको रकम अपचलन, अनियमित ऋण प्रवाह, वित्तीय पारदर्शिताको अभाव तथा सञ्चालकहरूको गैरजिम्मेवार गतिविधिका कारण सहकारी क्षेत्र संकटग्रस्त बन्दै गएको आरोप छ ।
प्रहरीका अनुसार विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक तथा सञ्चालकविरुद्ध बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ । केही आरोपी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही अझै फरार छन् ।
सहकारीमा सर्वसाधारणको जीवनभरको बचत फसेपछि पीडितहरू न्याय र रकम फिर्ताको माग गर्दै सम्बन्धित निकाय धाइरहेका छन् ।
प्रहरीले चेकमार्फत कारोबार गर्दा खातामा पर्याप्त रकम भए/नभएको सुनिश्चित गर्न, कानुनी कागजात सुरक्षित राख्न तथा अपरिचित व्यक्ति वा संस्थासँग ठूलो आर्थिक कारोबार गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
आर्थिक अपराधको बढ्दो प्रवृत्तिले जिल्लामा वित्तीय सुरक्षा र सहकारी प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउँदै लगेको भन्दै सरोकारवालाहरूले प्रभावकारी नियमन, कडा कानुनी कारबाही र वित्तीय सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस