काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित पार्टीका १७ जना सांसदमाथि २३ र २४ भदौमा भएका घटनासम्बन्धी विषयमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नख्खु कारागारबाट सभापति लामिछाने बाहिरिने क्रममा देखिएको गतिविधि तथा त्यससँग जोडिएका विभिन्न घटनाक्रमका विषयमा थप सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकाल लाई पनि सोही घटनासँग सम्बन्धित विषयमा अनुसन्धानको दायरामा राख्न सिफारिस गरिएको आयोगले जनाएको छ ।
अनुसन्धानको सिफारिसमा परेका अन्य सांसदहरूमा सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादव रहेका छन् ।
त्यसैगरी रास्वपाका केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट उम्मेदवार बनेका हेमराज थापालाई समेत अनुसन्धान गर्न सुझाव दिइएको छ ।
आयोगले घटनाअघि, घटनाका क्रममा र त्यसपछि दिइएका अभिव्यक्ति तथा गतिविधिहरूलाई समेत अध्ययनको आधार बनाएको जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागका सूचना, सामाजिक सञ्जालका सामग्री तथा प्रकाशित समाचारहरूलाई समेत विश्लेषण गरेर सम्भावित संलग्नता र प्रभावबारे मूल्यांकन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, “उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट देखिएको टिप्पणीलाई ध्यानमा राख्दै, घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे/नरहेको, तथा अभिव्यक्तिका कारण प्रदर्शनकारी उत्तेजित भई सार्वजनिक शान्ति–सुव्यवस्थामा असर परेको वा नपरेको विषयमा गहिरो अनुसन्धान आवश्यक देखिन्छ।”
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले २३ र २४ भदौमा भएका घटनामा मानवअधिकार उल्लंघनसम्बन्धी अनुसन्धान प्रतिवेदन तयार गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस