२०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

सवारी दुर्घटनामा परि तीनको मृत्यु, दुई गम्भीर


२४७१ पाठक संख्या
  • २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित १ महिना अघि
  • सुर्खेत, १८ जेठ — दैलेखको भैरबी गाउँपालिका–७ स्थित कालगौंडी क्षेत्रमा सोमबार भएको जिप दुर्घटनाले कर्णाली क्षेत्रलाई शोकमा डुबाएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनाग्रस्त हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत पठाइएको छ।

    प्रहरीका अनुसार सुप ०१००१ च ४९६४ नम्बरको जिप सोमबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनापछि गम्भीर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर उपचारकै क्रममा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

    मृत्यु हुनेमा कालीकोटको शुभकालिका गाउँपालिका–५ निवासी ३५ वर्षीय कलबहादुर रोकाय, सोही वडाका ३९ वर्षीय मित्र सुनार तथा शुभकालिका गाउँपालिका–६ निवासी ६० वर्षीया पुल्तिसरा बिक रहेका छन्। चालक रोकायको घटनास्थलमै गम्भीर चोट लागेको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकका अनुसार मृतक तीनै जनाको शव हाल जिल्ला अस्पताल दैलेखमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाउने तयारी भइरहेको उनले जानकारी दिए।

    दुर्घटनामा घाइते भएकामध्ये शुभकालिका गाउँपालिका–४ की ४५ वर्षीया नैन सुनार र वडा नं. ६ का २७ वर्षीय सुमत बिकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ। अन्य तीन घाइतेको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी, प्रहरी तथा सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो। दुर्गम क्षेत्र भएकाले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन चुनौती भए पनि तत्काल उद्धार गरिएकाले थप मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। जिप अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ। घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी बिकको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको छ।

    कर्णाली प्रदेशका पहाडी जिल्लामा साँघुरा तथा जोखिमयुक्त सडक, तीव्र मोड र वर्षायामअघि सडकको कमजोर अवस्थाका कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन्। पछिल्लो दुर्घटनाले पुनः सडक सुरक्षाको विषयलाई गम्भीर रूपमा उठाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार