काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ मा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव अर्थात् ‘रजत जयन्ती’ तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सम्पन्न भएको हो।
विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिनेछ। कार्यक्रममा नियमित वार्षिकोत्सवमा जस्तै एसईई विद्यार्थी बिदाइ, अभिभावक सम्मान, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, नगर, जिल्ला तथा प्रदेशस्तरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई सम्मान गरिने कार्यक्रम रहेको छ।
यसका साथै विद्यालयको स्थापना यात्रादेखि रजत जयन्तीसम्म आइपुग्दा साथ, सहयोग र योगदान पुर्याएका शिक्षक–कर्मचारी, पूर्व सञ्चालक, विद्यालयका विभिन्न समितिमा रही योगदान गर्ने व्यक्तित्व तथा शिक्षा र विद्यालयप्रति सहयोग पुर्याउने घरबेटीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन कक्षा प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सोही तहका विद्यार्थीहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्राप्त उपलब्धिका आधारमा कार्यक्रममा उपस्थित अतिथिहरूबाट पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–अभिभावक समिति सदस्य शिवहरि थापाद्वारा स्थापित ‘जेएसडी अक्षयकोष’बाट कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत तीन जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो। अक्षयकोषकी संरक्षक कल्पना थापामार्फत उक्त सामग्री वितरण गरिएको हो।
विद्यालयका एक्जाम तथा ईसीए को–अर्डिनेटर दीपक तामाङको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सो अवसरमा बोल्दै प्रिन्सिपल श्रेष्ठले विद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास र आत्मनिर्भर भविष्य सुनिश्चित गर्नु रहेको बताए। उनले आधुनिक शिक्षण विधिको प्रयोग, प्रयोगात्मक विज्ञान, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, समृद्ध पुस्तकालय, विद्यार्थी–केन्द्रित सिकाइ, कमजोर विद्यार्थी सुधार कार्यक्रम, मानसिक स्वास्थ्य तथा युथ काउन्सिलिङ, बाल क्लब, अभिभावक अन्तरक्रिया लगायतका कार्यक्रममार्फत विद्यार्थीको समग्र विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको जानकारी दिए।
त्यस्तै विद्यालयले इनडोर तथा आउटडोर खेलकुद, एथलेटिक्स, नृत्य, संगीत, चित्रकला, गायन, मार्सल आर्ट, हस्तलेखन लगायतका अतिरिक्त गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको उनले बताए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति तथा सामाजिक उत्तरदायित्वबोधका कार्यक्रम सञ्चालन गरिँदै आएको पनि उनको भनाइ थियो।
श्रेष्ठका अनुसार हाल विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन्। आगामी दिनमा अभिभावकले खोजेको सम्पूर्ण शैक्षिक गन्तव्यका रूपमा लिन स्कुललाई अझ सुदृढ बनाउने विद्यालय प्रशासनको योजना रहेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए। उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि निजी र सार्वजनिक दुवै क्षेत्रको समन्वित प्रयास आवश्यक रहेको उल्लेख गरे। राज्यले निजी विद्यालयलाई रोक्नेभन्दा सुदृढ नियमन, सहकार्य, पारदर्शिता र गुणस्तरीय प्रतिस्पर्धामार्फत शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उनले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विद्यालयको सफल कार्यक्रमका लागि शुभकामना व्यक्त गर्दै विद्यालयको आगामी यात्रा तथा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस