२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

समुदायमै स्वास्थ्य सेवा: पाँचखालको शिविरमा ६ जनामा क्षयरोग भेटियो


८३९९ पाठक संख्या
  • २०८२ चैत्र ८, आईतबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक — समुदायस्तरमै क्षयरोग (टीबी) को समयमै पहिचान तथा नियन्त्रण गर्ने उद्देश्यले पाँचखाल नगरपालिकामा सञ्चालन गरिएको दुईदिने सक्रिय क्षयरोग खोजपड्ताल शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।

    नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा राष्ट्रिय क्षयरोग केन्द्र, सानोठिमी भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा करिब ६ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्।

    शिविरमा सहभागीहरूलाई निःशुल्क स्वास्थ्य जाँच, क्षयरोग सम्बन्धी परामर्श, खकार परीक्षण, आवश्यकतानुसार एक्स–रे तथा थप परीक्षण सेवा उपलब्ध गराइएको थियो। परीक्षणका क्रममा ६ जनामा क्षयरोग संक्रमण पुष्टि भएको पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी दिनुभयो।

    कार्कीका अनुसार संक्रमण पुष्टि भएका बिरामीहरूलाई तत्काल उपचार प्रक्रियामा समावेश गरिएको छ भने उनीहरूको नियमित अनुगमन तथा परामर्शसमेत गरिनेछ। “समुदायमै पुगेर जोखिम समूह पहिचान गर्ने र प्रारम्भिक चरणमै रोग पत्ता लगाउनु नै शिविरको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “यसले रोग फैलावट नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

    स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग सरुवा रोग भएकाले समयमै परीक्षण र उपचार नहुँदा यसको जोखिम बढ्ने गर्छ। त्यसैले यस्ता सक्रिय खोजपड्ताल कार्यक्रमले लुकेर बसेका बिरामी पहिचान गर्न सहयोग पुग्ने र समुदायलाई सचेत बनाउने विश्वास गरिएको छ।

    पाँचखाल नगरपालिकाले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै जनचेतना अभिवृद्धि गर्ने नीति अनुरूप नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै, लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार