काठमाडौं, ९ चैत।नेपाली कांग्रेस ले आफ्नो १५औँ महाधिवेशन भदौ महिनामा गर्ने गरी तयारी अघि बढाएको छ। मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिकाबारे विस्तृत छलफल गरी सार्वजनिक गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।
पार्टी सभापति गगन कुमार थापा निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुँदै छन्। यसअघि उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा बसेको बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो।
भोली मंगलबार बस्ने बैठकमा सभापति थापाले नै अध्यक्षता गर्नेछन्। बैठकले भदौमा महाधिवेशन गर्ने गरी औपचारिक कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। उनका अनुसार वर्षा सुरु हुनुअघि नै क्रियाशील सदस्यता सम्बन्धी काम सम्पन्न गरी तल्लो तहका अधिवेशन सुरु गरिनेछ। त्यस्तै, बीपी कोइराला को जन्मजयन्ती (भदौ २४) का दिन महाधिवेशन उद्घाटन गर्ने लक्ष्यसहित कार्यतालिका ल्याउने तयारी भइरहेको छ।
यसअघि पुस महिनामा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याइए पनि कार्यान्वयन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि पार्टीले विशेष महाधिवेशन आयोजना गरेको थियो। उक्त विशेष महाधिवेशनप्रति पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएका छन्।
यसैबीच, पार्टीभित्र क्रियाशील सदस्यता पूर्ण रूपमा खारेज गरी नयाँ ढाँचामा अघि बढ्ने विषयमा पनि बहस सुरु भएको छ। केही नेताहरूले पुरानो सदस्यता प्रणाली हटाएर नयाँ प्रणाली लागू गर्न दबाब दिएका छन् भने अर्कोतर्फ धेरै स्थानमा सदस्यता नवीकरणको काम सकिएको अवस्था पनि छ। यी दुवै पक्षलाई मध्यनजर गर्दै आगामी बैठकले सदस्यतासम्बन्धी ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस