२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पाँचखालमा १३ औँ अन्तर्राष्ट्रिय लोक संस्कृति मेला भव्य रूपमा सम्पन्न


५६४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ चैत्र ११, बुधबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिका–४ स्थित जय श्रीकृष्ण पाटीप्यालेसमा आज (बुधबार) १३ औँ अन्तर्राष्ट्रिय लोक संस्कृति मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

    विभिन्न देशका कलाकारहरूको सहभागितामा सम्पन्न उक्त मेलाले नेपाली लोककला, संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सशक्त सन्देश दिएको छ।

    “एभरेष्ट नेपाल कल्चर ग्रुप”का अध्यक्ष आर.सी. कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल सहभागी हुनुभएको थियो। उहाँले यस्ता सांस्कृतिक मेलाहरूले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिताले पाँचखाललाई विश्वसामु चिनाउन मद्दत पुगेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा विशेष अतिथिका रूपमा सुर्यमाया दनुवार र पुरुषोत्तम सापकोटा सहभागी रहनुभएको थियो। त्यसैगरी जिल्ला समन्वय समितिकी प्रवक्ता अपसरा ढुंगाना, पाँचखाल नगरका प्रवक्ता संजय तामाङ, वडा अध्यक्षहरू जयबहादुर तामाङ, रामेश्वर दाहाल, सुन्दर अधिकारी, सुन्दर तामाङ, रामशरण दुलाल, रामकृष्ण दंगाल, रामकाजी श्रेष्ठ, नारायणप्रसाद सापकोटा, हिराकाजी तामाङ, ज्ञानबहादुर दनुवार र सुकुवीर तामाङलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    मेलामा भुटान, बोस्निया, इन्डिया, साउथ अफ्रिका तथा नेपालका कलाकारहरूले आ–आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विविध नृत्य, गीत तथा परम्परागत भेषभूषाले सजिएका प्रस्तुतिहरू दर्शकका लागि मुख्य आकर्षण बनेका थिए।

    कार्यक्रमको अवसरमा सहभागी अन्तर्राष्ट्रिय तथा स्वदेशी कलाकार टोलीलाई पाँचखाल नगरपालिकाको तर्फबाट प्रमुख अतिथि मेयर खरेलले मायाको चिनो प्रदान गर्नुभयो।

    उक्त मेलाले स्थानीय स्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय सांस्कृतिक आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। सहभागी कलाकार र दर्शकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ सफल र स्मरणीय बनाएको आयोजकको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार