१३ चैत, काठमाडौं – दोलखाको लाप्चा क्षेत्रमा शुक्रबार मध्याह्नदेखि मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा उडाइएको थियो।
लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्दछ। प्राधिकरणका एक अधिकारीले बताए अनुसार, हेलिकप्टर लाप्चा आइपुगेपछि सम्पर्कविहीन भएको हो।
हेलिकप्टरको दर्ता नम्बर ‘९एन-एएनओ’ हो र यसमा क्याप्टेन थापासहित पाँच जना सवार थिए। त्रिभुवन विमानस्थलका अधिकारीले भने, “पछिल्लो सूचना अनुसार खराब मौसमका कारण हेलिकप्टर लाप्चा क्षेत्रमा कतै अवतरण गरेको हुन सक्छ, तर यो पुष्टि हुन बाँकी छ।”
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पनि हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको पुष्टि गरेका छन्। प्राधिकरणले खोजी कार्य तत्काल सुरु गरेको र मौसम अनुकूल भएपश्चात उद्धार कार्य तीव्र पारिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस