२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

दुई दिनपछि खुलेको बीपी राजमार्ग, यात्रामा अझै जोखिम कायम


४०५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ चैत्र १५, आईतबार मा प्रकाशित ३ महिना अघि
  • १५ चैत, काभ्रेपलाञ्चोक ।अविरल वर्षा र बाढीका कारण दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार बिहानदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझदेखि अवरुद्ध बनेको राजमार्ग अस्थायी मर्मत तथा डाइभर्सन निर्माणपछि बिहान करिब ६ बजेदेखि खुलाइएको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार सडक खुलाउन भक्तपुर सडक डिभिजन कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा क्षतिग्रस्त स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको हो। नदीको बहाव घटेसँगै मर्मत कार्य तीव्र बनाइएपछि राजमार्ग सञ्चालनमा ल्याउन सम्भव भएको उनले जानकारी दिए।

    शुक्रबार साँझ परेको भीषण वर्षासँगै रोशी खोलामा आएको बाढीले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानमा सडकमा गम्भीर क्षति पुर्‍याएको थियो। विशेषगरी रोशी–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा, चिउरीबास, रोशी–११ कालढुङ्गा तथा नमोबुद्ध–६ चौकीडाँडा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

    बाढीले करिब ४ देखि साढे ५ किलोमिटर क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यातायात सेवा ठप्प बनेको थियो। यसका कारण काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य पूर्वी नाका पूर्ण रूपमा बन्द हुँदा सयौँ सवारीसाधन विभिन्न स्थानमा रोकिन बाध्य भएका थिए।

    राजमार्ग अवरुद्ध भएपछि काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मंगालटारजस्ता प्रवेश नाकामा सवारी रोकेर राखिएको थियो भने यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए।

    शनिबार दिनभर मर्मत प्रयास भए पनि निरन्तर वर्षाका कारण काम प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। तर आइतबार बिहानदेखि नदीको बहाव केही घटेपछि डाइभर्सन निर्माण कार्य सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो।

    यद्यपि, मौसम अझै पूर्ण रूपमा सुधार नभएकाले जोखिम कायम रहेको प्रहरीले जनाएको छ। सडकका केही खण्ड अझै कमजोर अवस्थामा रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन, विशेषगरी रातिको समयमा अनावश्यक यात्रा नगर्न र सम्भावित पहिरो तथा बाढीको जोखिमलाई ध्यानमा राख्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

    बीपी राजमार्ग काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो र महत्वपूर्ण सडक सञ्जाल भएकाले यसमा देखिएको अवरोधले देशभरको यातायात प्रणालीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। त्यसैले सम्बन्धित निकायले दीर्घकालीन समाधानसहित दिगो पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार